अन्तिम युद्ध –कविता

801

अन्तिम युद्ध –कविता
भारतको हेपाहा नीतिविरुद्ध खुकुरी झिक्ने कांग्रेस नेता धनराज गुरुङको चेतावनी

Dhanraj-gurung

मेरो
छिमेकीको हेपाहा व्यवहार
देख्दा
नालापानीको जस्तै
युद्ध
लड्न मन लागिरहेछ,
त्यसैले
उही पुख्र्यौली
उही गोर्खाली
खुकुरी भिरेर
युद्धको विगुल
फुकौं जस्तो लागिरहेछ !
मेरो
छिमेकीको
नाकाबन्दीले
मेरो चुलो
निभे पनि
मेरो स्वाभिमान
कहिल्यै निभ्दैन,
बलिरहेछ,
त्यसैले
भोकै मर्नुभन्दा
युद्ध
मैदानमा
छिमेकी शत्रुको गोली
हाँसी–हाँसी
छातीमा
थाप्न मन लागिरहेछ !
मेरो
छिमेकीको
पाल्तु कुकुर
मेरै
घरभित्र पसेर
मलाई नै
भुक्ने र टोक्ने
गरिरहेछ,
त्यसैले
दिनहुँ
छिमेकीको कुकुर
लखेट्दै
घरभित्र
कोकोहोलो मच्चाउनु भन्दा
छिमेकीसँगै
युद्ध
लड्न मन लागिरहेछ !
ए छिमेकी
तिमीले
ममाथि लगाएको
‘नाकाबन्दी’ ले त
मेरो
नसा–नसामा
उही
वीर गार्खालीको
तातो रगत पो
बग्न थालेको छ
अनि
निरन्तर बगिरहेछ,
त्यसैले
छिमेकीको
अमानवीय र आपराधिक
व्यवहारको
छिनोफानो पनि
उही गोर्खालीको
खुकुरीको धारले
गर्न मन लागिरहेछ !
मेरो
छिमेकीको व्यवहारले
कहिले
मेरो सुस्ता
दुख्छ
मेरो
छिमेकीको व्यवहारले
कहिले
मेरो लिपुलेक
दुख्छ
मेरो
छिमेकीको व्यवहारले
अहिले मेरो
सिङ्गो नेपाल
दुःखीरहेछ,
त्यसैले अब त
मैले
निश्चित
गरेको छु,
मेरो छिमेकीको
हेप्ने चेप्ने
व्यवहारको
विरुद्ध
‘अन्तिम युद्ध’
लड्न मन लागिरहेछ !

 गुरुङको फेसबूकबाट