लगानी सम्मेलनबाट लगानी कर्ता उत्साहित : अर्थमन्त्री खतिवडा

656

लगानी सम्मेलनबाट लगानी कर्ता उत्साहित : अर्थमन्त्री खतिवडा

बुटवल, १८ चैत । अर्थमन्त्री डा. युवराज खतीवडाले लगानी सम्मेलन उत्साहजनक रुपमा सम्पन्न भएको र सम्मेलनले लगानीकर्तालाई उत्साहित बनाएको बताउनु भएको छ । काठमाण्डौमा सम्पन्न लगानी सम्मेलन मुलुकको आर्थिक बिकास तथा समृद्धिको यात्रामा कोशेढुंगा सावित हुने उहाँले दावी गर्नुभयो ।

नेपाल सुनचाँदी व्यबसायी महासंघको छैठौं बार्षिक साधारण सभाको सोमबार रुपन्देहीको मणिग्राममा उद्घाटन गर्दै अर्थमन्त्री खतीवडाले खानीजन्य उद्योगमा लगानी गर्न व्यबसायीलाई आग्रह गर्दै लगानीका लागि आए सरकारले व्यबसायीसंग बसेर छलफल गर्न तयार रहेको बताउनु भयो ।

उहाँले मुलुक संघीयतामा गएपछि तीन तहका सरकारले छुट्टा छुट्टै ऐन कानुन निर्माण गर्नुपर्ने भएकाले अहिले औद्योगिक प्रशासनमा द्वीविधा उत्पन्न भएको बताउँदै आगामी अधिवेशनबाट त्यो द्वीविधा अन्त्य हुने दावी गर्नुभयो । मन्त्री खतिवडाले औद्योगिक व्यबसाय ऐनमा संशोधन गरि संसदमा लगिएको भएपनि अधिवेशन अन्त्य भएकाले प्रस्तुत हुन नसकेको र आगामी अधिवेशनमा ल्याईने जानकारी गराउनु भयो । उक्त ऐन आएपछि औद्योगिक प्रशासनमा देखिएको द्वीविधाको अन्त्य हुने उहाँले दावी गर्नुभयो ।

उहाँले सुनचाँदी व्यबसायीको माग अनुसार सुन उपलब्ध गराउन सरकार तयार रहेको बताउँदै हालको व्यबस्थामा पुनरावलोकन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफू नेपाल राष्ट्र बैंकको गभर्नर रहँदा २०६६÷०६७ मा भुक्तानी सन्तुलनमा समस्या भएकाले कोटा प्रणाली लागु गरिएको बताउँदै उहाँले व्यबसायीलाई माग अनुसार सुनचाँदी उपलब्ध गराउन सुन बैंक (वेयर हाउस जस्तै) प्रणालीमा कारोवार गर्न आवश्यक रहेको भनाई राख्नुभयो ।

उहाँले व्यबसायीले उठान गरेका समस्या सुन्ने मात्रै नभएर समस्या समाधानकालागि सरकार तयार रहेको बताउनु भयो । मन्त्री खतिवडाले व्यबसायीले बहुमुल्य धातुको कारोवार गर्ने भएकाले स्वयम् व्यबसायीले पनि सुरक्षित स्थान र सतर्कता अपनाउन तथा सुरक्षा उपकरण जडान गर्न आग्रह गर्नुभयो । त्यसमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश पाँच उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले व्यबसायीले उठान गरेका समस्या सम्बोधनकालागि संघीय सरकारका अर्थमन्त्री खतिवडालाई आह्वान गर्दै कारोवारमा सजगता अपनाउन र लान्छना लाग्ने काम नगर्न व्यबसायीलाई पनि आग्रह गर्नुभयो ।