एउटा असल मित्रलाई अलविदा

एउटा असल मित्रलाई अलविदा

विपुल पोख्रेल
साउनको अन्तिम दिन, अर्थात साउन ३२ गते । बिहान पत्रकार महासंका केन्द्रीय सदस्य बसन्त गिरीले फोनमा अत्यन्त दुःखद खबर सुनाए, ‘डायल्सन दाइको त निधन नै भैसक्यो, अरु घाइते छन् रे ।’
डायल्सन अधिकारीको निधनको खबरलाई मैले सहज रुपमा पत्याउन सकेन । छटपटी छुट्यो । ०५६ सालमा म पत्रकार महासंघ दाङको उपाध्यक्ष भएको थिए । महासंघका तर्फवाट बिभिन्न कार्यक्रममा तथा तालिमहरुमा रुपन्देही जाने क्रममा उनीसंग मेरो संम्बन्ध गाँसिएको थियो । पुरानो, आत्मिय अनी उनको स्वभावका कारण मन जितेको साथीको मृत्युको खबरले मलाई साह्रै विचलित बनायो । दूर्घटना किन र कसरी भयो ? उनको शबको हालत के छ भन्ने बुझ्न तर्फ लागे । बुटवलमा फोन गरे । प्रेस युनियनकी अध्यक्ष रेखा भुषालका साथै रामराज पोख्रेलसंग कुरा भयो । ‘डायल्सनको घरमा यो कुरा थाहा छैन, तर घटना भएको हो’ उनीहरु दुवैले घटनालाई यसरी पुष्टि गरे ।
नगरपालिकाको भ्रमणमा उनी पनि छानिएका रहेछन् । किन छानिए ? भन्ने कुराको जवाफ मैले अझै पाएको छैन । एउटा शालिन, भद्र अनी स्वार्थ भन्दा धेरै टाढा रहेर काम गर्ने व्यक्ति सबैको रोजाईको पात्र हुन्छ नै । सायद यही उनको स्वभावका कारण उनी त्यो टोलिमा छानिए र कोशी व्यारेजसम्मको यात्रामा साथ दिए । नियतीको खेल, त्यो भन्दा अगाडी उनी संगै जान सकेनन् ।
सप्तरीलाई कार्यथलो बनाएका पत्रकार महासंघका केन्द्रीय सदस्य अबधेश झालाई फोन गरेर घटनाका बारेमा भने, र ‘जे गर्न पर्छ सबै गरेर डायल्सनको शब छिटो बुटवल पठाउने काम गर’ भन्ने आग्रह पनि गरे । उनी पनि घटना थाहा पाएर त्यसतर्फ जाँदै रहेछन् ।
बेलुका अध्यारो हुँदै गर्दा अबधेशले फोन गरे र भने, ‘दाइ शाथिलाई पोष्टमार्टमपछि प्लाष्टिकमा आफ्नै हातले राखेर बुटवल तर्फ पठाए ।’ एउटा अशल साथीलाई अन्तीम विदाई गर्ने अवसर तिमिलाई मिल्यो अबधेश, तिमिलाई धन्यवाद छ ।
बेलुका फेरि रेखालाई फाने गरे र भने,‘अन्तिम संस्कारमा म आउन भ्याउन समय हुन्छ भने म आउछु, तर मेरा लागि त्यो काममा ढिलो चाँही नगर्नु ।’ भोलि बिहान रेखाले फोनमा भनिन्, ‘दाइ, नजिकै दाहसस्का गर्ने कुरा भयो, तपाई आउन भ्याउनु हुन्न होला ।’ म असल मित्रको अन्तीम संस्कारमा जान पाएन ।
कम बोल्थे डायस्लन । समस्या उत्पन्न गर्दैनथे । समस्या समाधानका लागि सहयोगी बनिदिन्थे । पत्रकारिता भित्र पनि राजनीति हुन्छ । त्यो राजनीतिको नेता भैसकेका थिए डायल्सन । तर पदमा बस्नै पर्छ, पदमा नभए केही गर्न सकिदैन भन्ने मान्यता उनको थिएन । पत्रकार महासंघ र प्रेस युनियनको संगठन बलियो बनाउने सन्दर्भमा उनको गंभिर चिन्ता हुन्थ्यो, तर पदको दावी प्रायः हुदैनथ्यो । उनको यो स्वभाव हरेक संगठकहरुमा हुने हो भने संगठनहरुलाई चुस्त दूरुस्त बनाउन सकिन्थ्यो सायद…।
पत्रकारिता मात्र गर्दथे उनले । २०५८ सालमा दाङमा हामिले रेडियो स्वर्गद्वारी स्थापना गरेपछि बुटवलका समाचार उपलब्ध गराएर सहयोग गरेका थिए उनले । त्यसपछि उनीसंगको सम्बन्ध अझै प्रगाड भएको थियो । यो विचमा म भूमिका र पदका दृष्टिले नेतृत्व तहमा रहे । धेरै साथीहरु, अग्रजहरु तथा नयाँ पुस्ताका प्रतिनिधिहरुले म संग धेरै अपेक्षा राखे । लाभको अकांक्षा राखे । तर, मसंग केही अपेक्षा नगर्ने, निरन्तर सहयोग र सद्भाव दर्शाउने मित्रका रुपमा उनी सूचिकृत छन् ।
प्रेस युनियनले आयोजना गरेको तालिमका लागि झण्डै एक महिना अगाडि बुटवलमा थिए म । दुइ रात बसेको थिए म त्यहाँ । मेरो भाषण र तालिमको समाचार उनैले बनाएर धेरै ठाँउमा पठाएछन् । बेलुका बेजोडले पानी प¥यो । आदरणीय हरी लम्साद दाइ, प्रेस युनियन अध्यक्ष रेखा, निवर्तमान अध्यक्ष विक्रम खड्का, डायल्सनलगायतका केही साथीहरु पानीका कारण मसंग केहीबेर अबेलासम्म बस्नु भयो । त्यहाँ पनि डायल्सनले केही अपेक्षा राखेनन् । तर, हरी दाइले प्रशंग निकाल्नु भयो र भन्नुभयो,‘धेरै सिनियर साथी हुन् डायल्सन, केही अवसर दिन सकिएको छैन संगठनमा । आफुले पनि माग्नु हुदैन, अरुलाई सघाउनु हुन्छ । यसपटक त विपुल जी तपाईले नै जिम्मा लिएर प्रेस युनियनको केन्द्रीय समिति वा प्रदेश समितिमा डायल्सनजीलाई सेट गर्नुप¥यो ।’ हरीदाइले जिम्मा लगाएपछि मैले कोशिस गरुँला मात्र भने । डायस्लन तर्फ हेरे । उनी मुस्काए र भने,‘अब त पदमा नबस्नेको कुनै सुनिदो रहेनछ, त्यसैले रहर जागेको छ दाइ मलाई पनि ।’
उनको रहर पुरा गर्ने कोशिसमा लाग्ने प्रतिबद्धता जनाएको थिएँ मैले त्यहाँ । तर, नियतीको खेल, उनका लागि मैले कोशिस पनि गर्न पाइन । उनी आफैले राखेको चाहना पुरा गर्ने दिनसम्म कुर्न पनि चाहेनन्, हामी सबैलाई छाडेर जानु रै’छ र त खुलेर अपेक्षा राखेका रहेछन् ।
एउटा इमान्दार, असल, मिलनसार अनी मेरो सधैका सुभेच्छुक मित्रलाई गुमाउदाको पीडाबोध मसंग छ नै । यही पीडाका वीच उनको निवासमा गइ अन्तीम श्रद्धाञ्जली पनि दिए । परिवारका सदस्यहरुलाई भेटे । शोकपुस्तिकामा उनलाई स्मरणका शब्दहरु पोखे । पत्रकारिता अनी सुद्ध पत्रकारिता गर्ने र पत्रकारितामै जीवन समर्पित गर्ने पृयमित्र डायल्सन अधिकारीलाई हार्दिक श्रद्धाञ्जली ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •