भन्सार छली नेपाल भित्र्याईँदै गरेको सामान सहित ६ जना पक्राउ

530

भन्सार छली नेपाल भित्र्याईँदै गरेको सामान सहित ६ जना पक्राउ

बुटवल, १७ भदौ । भारतबाट नेपाल ल्याउँदै गरेको कपडा तथा खाध्यान्न सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । भारतबाट भन्सार छली सामान नेपाल भित्र्याउने क्रममा प्रहरीले छुट्टा छुट्टै स्थानबाट सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
सोमबार बिहान साढे सात बजेको समयमा ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुरमा प्रहरी चेकिङ्का बेला भन्सार छलेर भारतीय नम्बर प्लेट युपी ५३ एएन १८७६ को मोटरसाईलकमा कपडा ल्याउँदै गरेको भारतको महाराजगञ्ज सुनौलीका रुपन्देहीको सिद्धार्थनगर ९ बस्ने २१ वर्षीय रहेन कुरैसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीबाट उम्केर भाग्ने क्रममा प्रहरीले पिछा गरी रुपन्देहीको सिद्धार्थनगर ९ भाडाको घरबाट कुरैसीलाई पक्राउ गरेको हो । त्यस क्रममा प्रहरीले कुरैसी सहित भारतको महाराजगञ्ज सुनौलीका २१ वर्षीय रेहमद कुरैसी सोही ठाउँका १९ वर्षीय भोला रौनीयार र रोहिणी गाउपालिका २ रुपन्देहीका २५ वर्षीय कमरुद्दिन खानलाई पक्राउ गरेको हो ।
त्यस क्रममा प्रहरीले भन्सार छली मोटरसाईकलमा ल्याएको तथा घरमा राखेका ६३६ पिस जेन्स सर्ट, मोटरसाईलक समेत गरी ४ लाख ४ हजार ४ सय रुपैंया मुल्य कायम गरि भैरहवा भन्सार कार्यालय बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी गराउनु भयो ।
त्यस्तै सोमबार नै भारतबाट भन्सार छली गरि नेपाल भित्र्याउँदै गरेको १६ बोरा आलु, १४० मिटर टेन्टको कपडा सहित ढुवानीमा प्रयोग भएको छोटा हात्ति बरामद गर्नुका साथै उक्त सामान ल्याउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ओमसतिया गाउँपालिका वडा नं. २ बैकुण्ठपुरमा प्रहरी चेकिङ्का क्रममा रोहिणी २ कै मुक्तार अहमद र १८ वर्षीय राजकुमार मौर्यलाई पक्राउ गरेको हो । उनीहरुले ल्याएको आलु, टेन्टको कपडा तथा ढुवानीमा प्रयोग भएको लु २ च २६९६ नम्बरको छोटा हात्ति सहित १० लाख ३८ हजार मुल्य कायम गरि भैरहवा भन्सार कार्यालय बेलहिया पठाईएको प्रहरीले जनाएको छ ।