बुटवल, ८ असोज । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले लाहुरे संस्कृतिबाट समाज प्रभावित भएका कारणले युवाहरु बिदेशीने गरेको टिप्पणी गर्नुभएको छ । सामाजिक विकास मन्त्रालयले बुधबार बुटवलमा आयोजना गरेको प्रदेश रोजगार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बैदेशिक रोजगारलाई समाजले प्रतिष्ठाको विषय बनाएका कारण युवाहरु विदेशीने गरेको बताउनु भएको हो ।
बिदेशमा गर्ने काम नेपालमै बसेर गर्दा समाजले प्रशंसा नगर्ने र बाहिर गएर गर्दा सम्मानको दृष्टिले हेर्ने गरिएकै कारण युवाहरु बिदेश जाने संस्कृतिले प्रसय पाएको भन्दै मुख्यमन्त्री पोखरेलले बताउनु भयो । उहाँले नेपालमा रोजगारीको अभाव र बिदेशमा प्रतिष्ठाको बिषय बन्ने सामाजिक मनोबिज्ञानले नेपाली जनशक्ति पलायन भईरहेको उहाँले उल्लेख गर्नुभयो ।
नेपालमा कृषि र पर्यटनको क्षेत्रबाट युवाहरुले रोजगार पाउन सक्ने औंल्याउँदै उहाँले स्वदेशमा लगानी गरी उद्यमशिलता अवलम्बन गर्न आग्रह गर्नुभयो । परम्परागत रुपमा अलमलिएको कृषि प्रणालीलाई व्यबसायिक रुपमा अवलम्बन गर्ने हो भने थोरै जनशक्तिमा धेरै उत्पादन गर्न सकिने र बाँकी जनशक्तिलाई अन्यत्र परिचालन गर्न सकिने बताउँदै प्रदेश सरकारले कृषिमा व्यबसायिक बिकासलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
उहाँले आयात प्रतिस्थापन गर्ने र निर्यात पर्वधन गर्ने गरी योजना बनाईएको र सरकारले बनाएको योजना अनुसारका कार्यक्रममा सहभागि हुन आह्वान गर्नुभयो । उहाँले तत्काल भन्दापनि दीर्घकालिन सोंचका साथ आफ्नै देशमा काम गर्न आग्रह गर्दै कृषिका माध्यमबाट प्रदेश आत्मनिर्भर भएर यहाँको उत्पादन अन्तरप्रदेश तथा बाह्य मुलुकमा निर्यात गर्न सकिने प्रसस्त सम्भावना रहेकाले त्यतिबेला रोजगारीको समेत ठूलो अवसर प्राप्त हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतम लगायतले रोजगारीका लागि बिदेश पलायन हुने प्रबृत्ति रोक्नकालागि सरकार लागिपरेको बताउँदै सरकारलाई साथ दिएर नेपालमै केही गर्न बिदेशीने पुवा पुस्तालाई आग्रह गर्नुभयो । यहाँको सम्भावनामा सरकारसंगै सहकार्यकालागि नीजि क्षेत्रलाई समेत उहाँहरुले आग्रह गर्नुभयो ।
सम्मेलनमा फ्यूज मेशिन, जेनिश, श्रीनगर एग्रो फर्म, रोजगारी पसल र मोरङ अटो वक्र्ससपले कसरी रोजगारी सृजना गरेका छन भनेर प्रस्तुती राखेका थिए । प्रदेश सरकारले यूके एडको रोजगारीको लागि सीप कार्यक्रमसँग सहकार्य गरेर सम्मेलन गरेको हो ।