बुटवल, १२ असोज । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसंग भएको लिखित सहमति कार्यान्वन नभए सडक आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
सरकारलाई समर्थ गरि सरकारमा सहभागि हुदाँ भएको लिखित सहमति अनुसार संविधान संशोधन नभए आन्दोलनमा जाने उहाँले चेतावनी दिनुभएको हो । रिपोर्टर्स क्लव प्रदेश पाँचले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै संविधान संशोधन गरेर समाजवादी पार्टीले उठाएका माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत उहाँले बताउनु भयो ।
उहाँले शर्तसहित सरकारलाई समर्थन गरिएको बताउंदै शर्त पुरा नभए सडकबाट आन्दोलन गरिने बताउनु भएको हो । पूर्व मन्त्रीसमेत रहनु भएका राईले भाषिक, धार्मिक, समानुपातिक, समावेशी, साशकीय स्वरुप, निर्वाचन प्रणालीप्रति संविधानमा तुर्टी भएकाले संविधान संशोधनको विकल्प नभएको दावी गर्नु भयो ।
सरकारका केही मन्त्रीहरुको अपरिपक्कताका कारण सरकार समस्यामा परेको उल्लेख गर्दै उहाँले सरकारको पक्षबाट भएका अराजकता नरोकिए लोकतान्त्रीक गणतन्त्रमाथि संकट आउन सक्ने औंल्याउनु भयो । वरिष्ठ नेता राईले भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणले पञ्चायती शैलीको झल्लो दिएको बताउनु भयो । नेता राईले सो आक्रमणले आफूमाथि पञ्चायतमा भएको आक्रमणको सम्झना गराएको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना ‘अरिंगाल’हरु नियन्त्रण गर्न नसके त्यसले लोकतन्त्रमा असर पार्ने उल्लेख गर्नुभयो ।
भ्रष्टाचार र घुसखोरी वर्तमान सरकारका पालामा बढेको आरोप लगाउँदै उहाँले यसको न्यूनीकरण नभए जनता निरास भएर सडकमा उत्रिन सक्ने चेतावनी पनि दिनु भयो । उहाँले सत्ताको आडमा कसैलाई निषेध गर्न नहुने बताउंदै विप्लव नेतृत्व नेकपालाई वार्ताको माध्यमबाट असन्तुष्टीलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । विप्लव नेतृत्व नेकपालाई हिंसाको बाटो छोडेर वार्ताको माध्यमवाट समस्याको समाधान खोज्न आग्रह गर्नु भयो ।
