रुपन्देहीको सैनामैनामा फूलखेती

रुपन्देहीको सैनामैनामा फूलखेती

खस्यौली, २ कात्तिक । रुपन्देहीको सैनामैना नगरपालिकामा अतिथिलाई लगाउने खाँदा विस्थापित गर्न फूलखेती शुरु गरिएको छ । खासगरी नगरपालिकाको विभिन्न वडामा रहेका आमा समूहले आयआर्जनका लागि फूलखेती शुरु गरेपछि नयाँ अनुभव हासिल भएको बताएका छन् । “हामीले माला उत्पादन गरेर खाँदा विस्थापित मात्रै गर्न सक्यौँ भने पनि ठूलो उपलब्धि हुन्छ”, पैरवी आमा समूह सैनामैनाकी अध्यक्ष सीता जिसीले भन्नुभयो । उहाँले फूलखेतीका लागि मिहेनत धेरै गर्नुपर्ने अनुभव गरिएको जानकारी दिँदै फूलखेतीबाट धेरै उत्साहित भएको बताउनुभयो ।
सयपत्री फूलको खेती सैनामैना वडा नं ४ स्थित सिसौँडाँडामा गरिएको छ । सो आमा समूहले ११ कठ्ठा जग्गा भाडामा लिए पनि पाँच कठ्ठा जग्गामा मात्रै फूलखेती गरेकोे छ । उक्त आमा समूहले नगरपालिकाले प्रदान गरेको रु ५० हजार अनुदानसमेत लिएको छ । रु एक लाख ८० हजार फूलखेतीमा लगानी गरेको आमा समूहले सोचेजस्तो बिरुवा नभएको कारण आम्दानी कम हुने अनुमान भएको बताएको छ ।
आमा समूहकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले रु १०० देखि रु १५० सम्ममा माला बनाएर बेच्ने गरेको उल्लेख गर्दै स्थानीय बजारमै फूलखेती खपत हुने बताउनुभयो । उहाँले तीन वर्षका लागि रु ३० हजार वार्षिकरूपमा भाडा तिरेको जानकारी दिँदै ५० प्रतिशत फूलको बिरुवा रोग लागेर खेर गएको बताउनुभयो । कोषाध्यक्ष श्रेष्ठले अन्नपूर्ण एग्रोभेट, बुटवलबाट ल्याएको फूलको बीउ गुणस्तरीय नभएको उल्लेख गर्दै फूलखेतीको प्राविधिक विश्लेषण नभएको गुनासो गर्नुभयो । त्यस्तै सैनामैना नगरपालिका–७ आमीको पुष्पाञ्जली आमा समूहले गरेको फूलखेती अधिकांश खेर गएको छ । “आधाभन्दा बढी फूलको बिरुवा गोडेर फालेका छौँ”, पुष्पाजञ्ली आमा समूहका उपाध्यक्ष निरु रानाले भन्नुभयो । उहाँले रु दुई हजार वार्षिकरूपमा तिरेर जग्गा भाडामा लिएर फूलखेती गरेको जानकारी दिँदै ठिमाहा बीउ र पतेरोको ठूलो समस्या देखिएको बताउनुभयो ।
“धेरैले फूलखेती नगरेकाले फूलखेतीमा फाइदा हुन्छ भनेर यो खेती गरेका हाँै”, उपाध्यक्ष रानाले भन्नुभयो । कृषि विकास शाखा सैनामैना नगरपालिकाका कृषि अधिकृत सिर्जना सुवेदीले कृषकले नै कम गुणस्तरको बीउ ल्याएकाले समस्या देखिएको उल्लेख गर्दै पूजा, विवाह, व्रतबन्धमा फूलको प्रयोग बढाएर बजार व्यवस्थापनमा सहयोग गरेको बताउनुभयो । उहाँले नगरपालिकाकोतर्फबाट फूल लगाउने विधि, रोगको समस्या देखिँदा प्रयोग गर्ने ‘मल्टी भिटामिन’ को प्रयोग गर्न सुझाएको जानकारी दिँदै फूलखेतीबाट मालाको प्रयोग गरेर खाँदा विस्थापित गर्न सके उपलब्धि हुन्छ भन्नुभयो । सैनामैना नगरपालिकाको वडा नं ४ र ७ बाहेक ६, ८, १० र ११ मा पनि रु ५० हजार अनुदान दिएर फूलखेती गरिएको छ । नेपालीको चाड भाइटीकामा फूलको प्रयोग बढी हुने भएकाले पनि कृषकको उत्साह बढेको छ । रासस

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •