युवा स्वरोजगार कोषको कर्जा रकम बढाउन सहकारीहरुको माग

युवा स्वरोजगार कोषको कर्जा रकम बढाउन सहकारीहरुको माग

बुटवल, २४ कात्तिक । युवा तथा साना व्यबसायी स्वरोजगार कोषलाई युवा स्वरोजगारमा हुने लगानी बढाउनकालागि सहकार्य गरेका सहकारीहरु आग्रह गरेका छन् । उनीहरुले कोषले गरेको लगानी युवा स्वरोजगारकालागि अप्रयाप्त भएको भन्दै कोषलाई लगानी बढाउन आग्रह गरेका हुन् ।
युवा तथा साना व्यबसायी स्वरोवजगार कोषले बुटवल उद्योग बाणिज्य संघको सहयोगमा शुक्रबार बुटवलमा आयोजना गरेको ‘स्वरोजगार कर्जा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला गोष्ठि’मा कोषसंग सहकार्य गरेका सहकारीका प्रतिनीधिहरु कार्यक्रमलाई अझै प्रभावकारी गराउन लगानी बढाउन तथा तालिम सञ्चालन गर्न समेत सुझाव दिएका थिए ।
अहिले कोषसंग सहकार्य गरेका सहकारीलाई पहिलो चरणमा ५० लाख, दोस्रो चरणमा ७५ लाख र तेस्रो चरणमा १ करोड रुपैंया सम्म प्रदान गर्दै आएको छ । त्यसरी प्राप्त भएको रकम सहकारीले आफ्ना शेयर सदस्यलाई परियोजना हेरेर कम्तिमा ३० हजारदेखि २ लाख रुपैंयासम्म कर्जा प्रदान गर्ने कोषका गुल्मी जिल्लाका सदस्य सचिव जीवन ज्ञवालीले जानकारी गराउनु भयो । कोषबाट ५ प्रतिशत व्याजदरमा त्यसरी लिएको रकम कर्जा लगानीमा १० प्रतिशत मात्रै व्याज लिनुपर्ने व्यबस्था छ । कर्जावालाले नियमित काम गरेमा कुल व्याजको ६० प्रतिशत कोषले कर्जावालालाई फिर्ता समेत गर्छ ।
सहकार्य गरेका सहकारी अध्यक्ष तथा व्यबस्थापक, उद्योग बाणिज्य संघका प्रतिनीधिहरु सहभागि भएको उक्त कार्यशाला गोष्ठिमा कोषका उपाध्यक्ष डा. प्रेमप्रसाद दंगालले कोषले सञ्चालन गरेको उक्त कार्यक्रमलाई प्रभावकारी हुनेगरी काम गर्न तथा लक्षित क्षेत्रमा कर्जा लगानी गर्न र कर्जाको दुरुपयोग नहुने गरी काम गर्न आग्रह गर्नुभयो ।
युवा तथा साना व्यबसायी स्वरोजगार कोषले प्रदेश पाँचका १२ जिल्लाका १७४ सहकारी मार्फत युवा स्वरोजगारकालागि कर्जा लगानी गरेको छ ।
कार्यक्रममा उद्योगी व्यबसायीहरुले स्वरोजगार अवलम्वन हुनेगरी कार्यक्रम सञ्चालन गर्न, रोजगारी तथा उद्यमशिलता अभिबृद्धि गर्नेगरी काम कोषलाई सुझाव दिएका थिए । कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ, बित्तिय क्षेत्रका जानकार हरिप्रसाद घिमिरेले कोषका उपाध्यक्ष ढंगालले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares