भ्रमणबाट बचेको रकमबाट विपन्न बालबालिकालाई शैक्षिक सामाग्री

1.3K

भ्रमणबाट बचेको रकमबाट विपन्न बालबालिकालाई शैक्षिक सामाग्री

बुटवल राजमार्ग चौराहमा रहेको एम्स कलेजका विद्यार्थीहरुले पाल्पाको तिनाउ गाउँपालिकामा रहेको सत्यवती प्राविका बालबालीकाहरुलाई झोला सहित शैक्षिक सामाग्री वितरण गरेका छन् । एम्स कलेजमा अध्ययनरत बिबिएस चौथो बर्षका विद्यार्थीहरुले शैक्षिक भ्रमणबाट बचेको रकमबाट तिनाउ गाउँपालिका ४ लगाढमा रहेको सत्यवती प्राविका बालबालिकालाई झोला, कापि, कलम, जाडोमा लगाउने टोपी, मोजा प्रदान गरेका हुन् । गत असोजमा मुस्ताङ भ्रमण गर्दा खाना खर्च कटाएर बचेको रकमबाट विद्यालयका ५० जना बालबालिकालाई सहयोग गरिएको विद्यार्थी सपना पन्थीले बताउनुभयो । साथै कलेजका अभिभावक प्रभाकर भण्डारीले उपलब्ध गराएको स्वीटर समेत बालबालिकालाई प्रदान गरिएको थियो । शैक्षिक सामाग्री र पोशाक पाउँदा विद्यार्थीहरु निकै खुशी भएका थिए । सो अवसरमा एम्स कलेजका सञ्चालक समिति सदस्य महेन्द्र पाण्डेले यस प्रकारको सहयोगले एम्स र सत्यवती प्राविका विच भगिनी सम्बन्ध स्थापना भएको भन्दै आगामी दिनमा पनि सहयोग जारी रहने बताउनुभयो । क्याम्पस प्रमुख दिपक ढकालले यो सहयोग सुरुवात मात्र भएको भन्दै विद्यालयको शैक्षिक विकासको लागी प्रशिक्षण, अभिमुखीकरण लगायतका अन्य सहयोग पनि गर्ने बताउनुभयो । तिनाउ ४ का वडाध्यक्ष दानबहादुर गाहा ले भ्रमण खर्च कटाएर विद्यार्थीहरुले सहयोग गर्नु उदाहरणीय काम भएको उल्लेख गर्नुभयो । सत्यवती प्राविका प्रधानाध्यापक जितबहादुर पल्लीले एम्सका विद्यार्थीको सहयोगले विद्यालय परिवार निकै खुशी भएको सुनाउनुभयो । विद्यार्थी सपना पन्थीको अध्यक्षता तथा मुना घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा एम्सका सहायक क्याम्पस प्रमुख विकास श्रेष्ठ, कलेजका प्राध्यापक विष्णुप्रसाद पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर सुनारी, स्थानिय आमासमुहकी अध्यक्ष दिलमाया सुनारी लगायतले बोल्दै विद्यार्थीहरुले गरेको सहयोग कार्यक्रमको प्रसंसा गर्नुभयो । पाल्पाको झुम्साबाट झण्डै २ घण्टा उकालो पैदलयात्रापछि एम्सका विद्यार्थीहरु लगाढको सत्यवती प्रावि पुगेका हुन् । यस अघि लामो पैदल यात्रा नगरेका विद्यार्थीहरुले यात्रा कठीन तर रोमाञ्चक रहेको अनुभव सुनाए । विद्यार्थी अस्मिता थापाले पैदल यात्राको सुरुवातमा निकै गाह्रो भएपनि माथी आइपुगेपछि आनन्द महसुस भएको सुनाउनुभयो । विद्यालयमा आयोजित कार्यक्रम अघि विद्यार्थीहरुले पाल्पाको सत्यवती मन्दिरको पनि दर्शन र अवलोकन गरेका थिए ।