शाईन रेसुङ्गा राष्ट्रिय स्तरको बिकास बैंक बन्यो

शाईन रेसुङ्गा राष्ट्रिय स्तरको बिकास बैंक बन्यो

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको विकास बैंक बनेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बैंक राष्ट्रियस्तरमा स्तरोन्नति भएको घोषणा गर्नुभएको हो । त्यस अवसरमा बोल्दै गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निर्देशन दिनुभयो । उहाँले युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्न रोजगारमूलक अवसर सिर्जना हुने गरी लगानी बढाउन समेत सुझाव दिनुभयो । नेपालले नाकाबन्दीबाट अझैपनि पाठ सिक्न नसकेको औंल्याउंदै गभर्नर नेपालले मुलुक अरु कसैले बनाइदिने नभई नेपालीले नै बनाउने हो भन्ने चेत खुल्नुपर्नेमा जोड दिनुभयो । नेपालीहरुले मलेसिया, दुबई, अमेरिका र अष्ट्रेलियामा मात्रै अवसर देख्ने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले उद्यम गर्नेलाई ऋण दिन बैंकहरु गाउंगाउंमा पुगिसकेकाले बैंकबाट कर्जा लिएर उद्यमशील बन्न समेत आग्रह गर्नुभयो ।
उहाँले नेपालको आर्थिक बृद्धि दर तीन वर्ष यता लगातार बृद्धि हुनु लगानीकर्ताका लागि खुशीको कुरा भएको स्मरण गराउनु भयो । शाइन रेसुङ्गा राष्ट्रियस्तरमा स्तरोन्नति भएसंगै देशभरी लगानी गर्ने अवसर आएको भन्दै गभर्नर नेपालले अवसरलाई सदुपयोग गर्न बैंकलाई सुझाव दिनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्य, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराईले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव दिनुभएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले राष्ट्र बैंकको नीति अनुसार अर्थन्त्रको जिम्मेवार अंगको रुपमा मनन् गरेर सबल र सुदृढ वित्तीय संस्था बन्न मर्जर तथा एक्वीजिसनमा गएको बताउनु भयो । उहाँले शुरुदेखि नै इथिकल बैंकिङ, संस्थागत सुशासन र पारदर्शितालाई अंगालेर अघि बढेकाले मर्जरमा सफलता हासिल गरेको भन्दै आगामी दिनमा थप गुणस्तरीय र विश्वसनीय सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । पौडेलले पांच नम्बर प्रदेशलाई आधार र केन्द्र बनाएर राष्ट्रिय स्तरमा अग्रणी विकास बैंकको रुपमा पहिचान बनाउने लक्ष्य रहेको बताउनु भयो ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता र बैंकका सञ्चालक एवं पुर्व अध्यक्ष थानेश्वर पौडेलको स्वागतमा भएको कार्यक्रममा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई हरेक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्न ३ लाख रुपैयाँको अक्ष्यकोष स्थापनाका लागि नेपाल पत्रकार महासंघलाई चेक हस्तान्तरण गरेको छ । अक्षयकोषको व्याजबाट कम्तीमा २५ हजार रुपैयाको नगद पुरस्कार सहित हरेक वर्ष एक जना पत्रकारले आर्थिक पुरस्कार पाउने छन् ।
यस्तै मानव सेवा आश्रम बुटवललाई एक लाख पचास हजार, पाल्पाको रिव्दिकोट गाउँपालिका स्थित भवानी माविलाई एक थान ल्यापटप र प्रोजेक्टर प्रदान गरेको छ । यस्तै बैंकले बुटवलको राजमार्ग चौराहा र नयाँ बसपार्कमा सिसिटिभी क्यामेरा जडान गर्ने र त्यसको व्यवस्थापन प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालयले गर्ने छ ।

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares