दुर्गा पौड्याल /
मान्छे जन्म देखि बुढोहुने बेलासम्म आफु स्वस्थ छु भन्दाभन्दै र स्वस्थ देखिँदा देखिदै पनि शरीरभित्रका अंगहरुमा अनेक समस्या आउँदा रहेछन् । पति मदन पौड्यालको हकमा अहिले त्यस्तै भयो । पाँच महिना अगाडि स्वस्थ देखिने मानिसमा यो पाँच महिनाको अवधीमा निकै परिवर्तन भयो । उहाँ विगत लामो समयदेखि सुगरको रोगि त हो । औषधी र इन्सुलिनमा हुनुहुन्थ्यो । अहिले २०७७ पुषको अन्त्यतिर पिसावमा अलिकति समस्या देखियो, के भयो भन्दै बुटवल मै अल्ट्रासाउन्ड, पिसाव जाँच गराईयो तर राम्रो देखिएन, समस्या छ भन्ने मात्र भयो । छोरा संजयले काठमाण्डौ बोलाए । अनि युरोलोजिष्ट डा. पुकार मास्केसंग समस्या अवगत गराउनुभयो । डक्टरको सल्लाहामा पुनः पिसावको चेकजाँच, अल्ट्रासाउन्ड, चेकगर्दै जाँदा पिसाव जम्मा हुने पिसाव थैलीभित्र ट्युमर देखियो । डक्टरले ट्युमर खुर्केर निकाल्नुपर्ने बताए । सोही अनुरुप माघ २७ गते मंगलबार पहिलो अपरेसन भयो । अपरेसन पछि पनि सानातिना समस्या सिर्जना हुँदा रहेछन् र भए । वार्डमा ल्याईसकेपछि पछि पिसावबाट रगत आउन रोकिएन । फेरि ओटीभित्रै लगि ढाडमा सुईदिएर पिसाव थैली सफागर्ने काम भयो । चारपाँच दिनको अस्पताल बसाई पछि घर ल्याईयो । फेरि अर्काे अपरेसन गर्नु पर्छ त भनेका थिए कहिले गर्ने भन्ने निर्णय भईसकेको थिएन । अलिकति सन्चो भएपछि हामी फागुन १० गते रुपन्देही घर फक्र्यौं । केही समय घरमा आराम गरेपछि हामी पुनःफागुन २६ गते काठमाण्डौ आयौ ।
चैत्र १ गते बिहान ९.३० बजे दोश्रो पटकको अपरेसन भयो । अपरेसन पछि अलि अलि होस आएपछि साढे बाह्रबजेतिर वार्डको बेडमा ल्याईयो । यसपटक पनि चार दिन अस्पताल बसेर डिस्चार्ज भइ घरमा आईयो । घर आएको दुई तीनदिन पछि उहाँको एकाएक पिसाव बन्द भयो । पिसाव भएन । पेट ढाडिन थाल्यो । उहाँ छटपटीन थाल्नु भयो । छोरालाई फोन गर्याैं । उनले तुरुन्त टेक्सीमा ल्याउनुस् भने । मीराले टेक्सी बोलाईन । हामीले टेक्सीमा दौडाएर पाटन अस्पताल पुरायौ । उहाँ निकै छटपटाउँनु भएको थियो । टाढा घर भएको भए के हुन्थ्यो भन्न सकिदैनथ्यो । छोरा संजय गेटमै ह्वीलचियर लिएर आएका रहेछन् । उनिहरु जुटे र दौडाउँदै कोठामा लगेर पिसाव नकालिदिए । पिसाव निस्केपछि मुख उज्यालो भयो । घर ल्यायौ । भोलीपल्ट ढाडबाट नदुख्ने सुई दिएर पिसावथैली सफागर्ने काम भयो । ट्युमर निकाले पछि जमेको रगतको सानो टुक्रा पिसाव नलीमा अड्केर पिसाव रोकेको रहेछ । फेरि त्यस्तै हुन्छ कि भनेर यसपटक पनि चारदिन अस्पताल मै बसियो । पिसाव फेर्न सजिलो भएपछि घर आईयो । केहीदिन काठमाण्डौ मै बसेर आराम गरेपछि चैत्र १८ गते रपन्देही स्थित शंकरनगर घरमा गयौ । अझै ठूलो र अप्ठ्यारो अपरेसन बाँकी नै थियो ।

शंकरनगर केही दिन बसियो अलि फ्रेस पनि देखिन थाल्नुभयो । २०७८ लाग्यो । नयाँवर्ष पनि मानियो त्यसपछि बैशाख ५ गते हामी फेरि काठमाण्डु आयौ ठूलो अपरेसनकालागि । छोराले दिल्ली जाने कि भनेका थिए, उहाँले मान्नुभएन । मलाई यहीकै डक्टरमाथि विश्वासछ, प्रबिधी उहीँ हो, म यही गराउँछु भन्नुभयो । चेक जाँच एक्सरे, अल्ट्रासाउन्ड रगत पिसाव जाँच गर्दा र रिपोर्ट लिदा बैशाख ११ भयो । पिसिआर पनि चेक भयो । नेगेटीभ नै आयो । यी सबै काममा दौडधुप छोराले नै गरे । उनलाई पनि त्यति सन्चो थिएन । ११ गते नै अस्पताल भर्ना गरियो । पहिलाजस्तो अपरेसन नभएर पेट चिरेरै गर्नुपर्ने अपरेसन थियो । सोही अनुसार १२ गते बिहान ८ बजे अपरेसन रुम भित्र लगे । अपरेसन हामीले सोचे भन्दा पनि ठूलो भयो । भित्र विग्रेका अंगजति सबै निकालिए । पिसाव सम्बन्धी ठूलो अपरेसन थियो त्यो । अपरेसन पछी भेन्टीलेटर, आइसियू हुँदै अपरेसको समयसंग ३२ घण्टामा बल्ल होस आयो । अपरेसन सफल भएकोमा अपरेसनगर्ने डक्टरहरुको टीम र हामी सबै खुशी भयौ । अपरेसनगर्ने डक्टरहरुको समूह देखि रात दिन विरामीको हेरचाहमा खटिने स्वास्थ्यकर्मी, अनि हामीलाई खानपिन देखि चाहिएका सरसामान ल्याईदिने डक्टर, भाइ भतिजा प्रति आभार प्रकटगरें । दशदिनको अस्पतालको बसाईपछि उहाँलाई घर ल्याईयो । यसविच पनि सातातिना स्वास्थ्य समस्या आईरहे । घरमा आएपछि सन्चो होला, शरीर अलि तगडा होला भनेको झन कमजोर हुँदैगयो । फेरि भर्नागर्ने कि भन्ने कुरा चल्यो कोरोनाको शंका पनि लाग्यो, डा. बालकृष्णले स्वाव लिएर जानुभयो नभन्दै रिपोर्ट पोजेटीभ आयो । फेरि कोरोना वार्डतिर भर्नागर्न लगियो । छोरा पनि पोजेटीभ भएर पहिले नै भर्ना थिए । बाउलाई पनि त्यही कोठामा लगियो । अपरेसन गरेको विरामीको हेरचाह गर्न सहयोगी चाहिन्थ्यो । त्यो काम पनि छोराले नै गरे । दश दिनको अस्पताल बसाईपछि बाउछोरा दुबै घरमा ल्याईयो । यो अबधीमा धेरैका धेरैथरी सहयोग पाईयो । धेरैले फोन मार्फत स्वास्थ्यलाभको कामना गर्नुभयो । फोनमार्फत दिनहुँको हालखवर सोध्नुभयो । सबैप्रति आभारी छौ र आभार प्रकट गर्छाै ।
कुसुन्ती, ललितपुर