बुटवल, मंसिर । रुपन्देही व्यापार संघको मुख्य आयोजनामा बुटवलमा हुने लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला सफल पार्न शुक्रबार विभिन्न उपसमितिका बैठक सम्पन्न भएका छन् ।
मेलाका लागि गठित बैंक तथा वित्तीय संस्था समन्वय समितिको बैठकले असहज परिस्थितिका बीच आयोजना हुन लागेको व्यापार मेलालाई सफल पार्न हरतरहले सहयोग र सहभागिता जनाउने निर्णय गरेको छ ।
बैंक तथा वित्तीय संघ संस्थाले आफूहरुले गर्न सक्ने जुनसुकै सहयोगका लागि तयार रहेको र त्यसका लागि सक्रिय सहभागिता जनाउने प्रतिवद्धता जनाएको उपसमितिका संयोजक तुलसीराम बन्जाडेले जानकारी दिनुभयो ।
मेला सचिवालयमा उद्यमशीलता निर्माण उपसमितिको बैठक पनि सम्पन्न भएको छ । उपसमितिकी संयोजक रुपा भण्डारीको अध्यक्षतामा बसेको बैठकले मेला स्थलमा बुद्ध जन्मस्थल लुम्बिनीको जस्तै शान्ति दीप निर्माण गर्ने र त्यस आसपासमा बुद्ध मुर्तीहरु निर्माण गर्ने निर्णय गरेको छ । बैठकले महिला उद्यमशीलतालाई मेलामा धेरै मात्रामा सहभागी गराउन र सहुलियत प्रदान गर्न पनि माग गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।
व्यापार मेलाका लागि शनिबार मेलास्थल बुटवल मण्डप सरसफाई गरिने भएको छ । नेपाली सेनाको २२ नम्बर बाहिनी रामनगरको सहयोगमा मेलास्थल सरसफाई गरिने आयोजक रुपन्देही व्यापार संघका महासचिव डिल्लिराज भण्डारीले जानकारी दिनुभयो ।
मेलास्थल सरसफाईका लागि संघले उपसमितिका सबै सदस्यहरु र अन्य शुभेच्छुकहरुलाई आग्रह समेत गरेको छ । मेलास्थलमा अहिले पूर्वाधार निर्माणका काम भैरहेका छन् । निर्माणको काम सकिएपछि मेलास्थल सजावटको काम सुरु गरिने भएको छ ।
‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउ“सम्म व्यापार विस्तार’ भन्ने मुख्य नाराका साथ आयोजना गरिएको एक्स्पो पुस ८ गतेदेखि २१ गतेसम्म बुटवल मण्डपमा सञ्चालन हु“दैछ । एक्स्पोमा स्वदेशी र बिदेशीका गरी विभिन्न प्रकृतिका ६ सय स्टलमा राखिने आयोजकले जनाएका छन् । एक्सपोमा अन्तर्राष्ट्रिय, अटो पेभिलियन, कृषि प्रविधि, सेवा मुलुक, सूचना प्रविधि र इलेक्ट्रोनिक्स, सामाजिक र सेवामूलक संघसंस्था, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, वैकल्पिक उर्जा, जुत्ता चप्पल, दैनिक उपभोग्य सामान, गार्मेन्ट्स, निर्माण सामाग्री, घरेलु तथा हस्तकला, होटल तथा रेष्टुरेन्टका स्टल रहने छन् ।
मेलामा अवलोकन गर्न आउने आमदर्शकहरुका लागि यस बर्ष टिकट दर ५० कायम गरिएको र अशक्त अपांग तथा विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा प्रदान गरिने टिकटको दर ४० कायम गरिएको संघले जनाएको छ ।