चितवन, २९ मङ्सिर । महिलामा हुने अर्बुद रोगमध्ये सबैभन्दा बढी पाठेघरको मुखको हुने गरेको पाइएपछि सरकारले पहिलो पटक चितवन र कास्कीमा खोप अभियान सञ्चालन गर्ने भएको छ । नेपालमा महिलामा हुने अर्बुद रोगमध्ये सबैभन्दा बढी अर्थात् ७० प्रतिशत पाठेघरको मुखको हुने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको सञ्चारकर्मीलाई अभिमुखीकरण तथा अन्तक्र्रिया गोष्ठीमा दिइएको जानकारीअनुसार चितवन जिल्लाका आठ हजार बालिकालाई सो खोप दिइने छ । बालस्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार विद्यालय जाने कक्षा छ मा अध्ययनरत विद्यार्थी र विद्यालय बाहिरका १० वर्ष उमेरका बालिकालाई खोप दिइने छ । खोप कार्यक्रम पुस १६ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिने भण्डारीले जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभरमा प्रत्येक वर्ष दुई लाख ७० हजारभन्दा बढी महिलाको पाठेघरको मुखको अर्बुद रोगको कारणले मृत्यु हुन्छ । सोमध्ये ८५ प्रतिशत मृत्यु विकासोन्मुख देशमा मात्रै हुन्छ । सन् २०१२ को तथ्याङ्कानुसार संसारभरमा त्यस वर्ष पाँच लाख २८ हजार महिलामा पाठेघरको मुखको अर्बुदरोगको निदान भएकामा दुई लाख ६६ हजारको मृत्यु भएको जनाइएको छ । पाठेघरको मुखको अर्बुदरोग ३५ देखि ६४ वर्षसम्मकामा धेरै हुने गरेको पाइएको छ । नेपालमा प्रत्येक वर्ष करिब १० हजार २० जनामा पाठेघरको मुखको अर्बुदरोग हुने अनुमान गरिएको छ । तीमध्ये ५० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ । संसारका विभिन्न देशमा गरिएको अध्ययनअनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस नामक भाइरस हो । पाठेघरको मुखको अर्बुदरोगबाट बच्न सुरुको अवस्थामा नै निदान भई उपचार गर्नुपर्छ । खोपको प्रयोग यौन सम्पर्क वा महिनावारी हुनुभन्दा अगाडि नै गर्दा धेरै प्रभावकारी हुने बताइएको छ । रासस