एनप्याब्सन चित्रकलाको उपाधि लुम्बिनी र सुनगाभालाई

16

एनप्याब्सन चित्रकलाको उपाधि लुम्बिनी र सुनगाभालाई

नेशलन निजी तथा आवासिय विद्यालय एशोसियशन (एन प्याब्सन) रुपन्देहीले आयोजना गरेको पाँचौ जिल्ला स्तरिय चित्रकला प्रतियोगिताको उपाधि न्यु लुम्विनी र सुनगाभा माध्यमिक विद्यालयले हात पारेका छन् । प्रतियोगितामा कक्षा १ देखि ५ सम्मको जुनियर र कक्षा ६ देखि १० सम्मको सिनियर तर्फको प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा जुनियर तर्फ न्यू लुम्बिनी बोर्डिङ देवदहका प्रिन्सिका पाइजा प्रथम, ग्यालेक्सी बोर्डिङ र सैनामैनाका निश्चल घिमिरे द्वितीय, सगरमाथा सेकेण्डरी स्कुल सितलनगरका आस्ना खरेल तृतीय र सेन्ट जोसेफ बोर्डिङ तिलोत्तमाका प्रिन्सिका गुरुङले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै सिनियर तर्फ सुनगाभा पब्लिक सेकेण्डरी स्कुल सैनामैनाका कृतिमा महत्रा क्षेत्री प्रथम, बुटवल ग्लोरी बोर्डिङ बुटवलका प्रिन्स थापा द्वितीय, स्कलर्स होम बुटवलका सबि गौतम तृतीय र न्यू लुम्बिनी देवदहका नमुना डोबलले प्रोत्साहन पुरस्कार हात पारेका हुन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई क्रमशः दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय र एक हजार नगर पुरस्कार सहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको एन प्याब्सन रुपन्देहीका सचिव बाबुराम बञ्जाडेले जानकारी दिनुभयो । प्रतियोगितामा स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड अप्लाइड साइन्स लुम्बिनी बौद्ध बिश्वबिद्यालयका डिन उकेशराज भोजु र नेपाल कमर्सियल आर्ट संघ रूपन्देहीका उपाध्यक्ष खेमबहादुर बिकले निर्णायकको भूमिका निभाउनुभएको थियो ।
। नेशनल प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षता र नेशनल प्याब्सन केन्द्रिय सचिव कृष्णप्रसाद पौडेलको आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीय सचिव पौडेलले विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन यस्ता प्रतियोगिताहरु सहयोगि सावित हुने भएकाले एन प्याब्सनले जिल्लादेखि केन्द्रीय स्तरसम्म यस्ता कार्यक्रम आयोजनालाई जोड दिएको बताउनुभयो ।
विद्यार्थीका सबै प्रकारका प्रतिभालाई उजागर गरि दक्ष जनशक्ति उत्पादनमा सहयोगि बन्दै आएका निजी विद्यालयलाई सरकारले विभेद गर्न नहुने सुझाव दिनुभयो । विगत दुई वर्ष कोभिड १९ को कारण नियमित यस्ता जिल्ला तहका कार्यक्रमहरु सम्पन्न हुन नसकेतापनि पछिल्लो समय सहज अवस्था भएसँगै यस्ता नियमित कार्यक्रमहरु बढाउनुपर्ने र विद्यार्थीहरुको क्षमतालाई पहिचान गरि राष्ट्रिय स्तरमा समेत विद्यार्थीहरुलाई चिनाउन र स्थापित गर्न नेशनल प्याब्सनले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय सदस्यहरु बालाकृष्ण तिवारी, देउप्रकाश राई, लुम्बिनी प्रदेश कमिटीका सहसचिव जे.बी.क्षेत्री लगायतले विजेता विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । जिल्ला उपाध्यक्ष विलप्रसाद गुरुङ्गंको स्वागत, कार्यक्रम संयोजक राजु गरुङ्गंको धन्यवाद ज्ञापन र सचिव बाबुराम बञ्जाडेको सञ्चालनमा भएको कार्यक्रममा जुनियर र सिनियर तर्फ गरि ४० जना प्रतियोगी विद्यार्थीहरुको सहभागिता रहेको जिल्ला सहसचिव बिनोद थापा मगरले जानकारी गराउनुभयो ।