रुपन्देहीको सैनामैनामा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु

119

रुपन्देहीको सैनामैनामा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु

रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा बोलबम धाममा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । युथ फर नेशन (राष्ट्रका लागि युवा) र सैनामैना जेसिसको संयुक्त आयोजनामा यही साउन १ गतेदखि सुरु भएको शिविर साउन ३१ गतेसम्म सञ्चालन गरिने छ ।
यो शिविर नेपालमा अहिलेसम्म भएका निःशुल्क स्वास्थ्य शिविरमध्ये सबैभन्दा लामो समयसम्म सञ्चालन हुने शिविर भएको पनि संस्थाले दावी गरेको छ । ‘स्वस्थ नेपाल स्वस्थ नेपाली’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सर्वसाधरण माझ स्वास्थ्य सेवा पहुँचको दायरा बढाउन र स्वस्थ जिवनशैली सम्बन्धी सचेतनाको विकास गर्न यो शिविर आयोजना गरिएको युथ फर नेशनका अध्यक्ष एवं मनोचिकित्सक डा. निकोलस भुसालले जानकारी दिनुभयो ।
‘यस श्रावण महिनाभर बोलबम धाममा श्रद्धालु भक्तजनको बाक्लो उपस्थिती रहन्छ’ डा. भुसालले भन्नुभयो ‘धनी–गरिब नभनी सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने, उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउने र सचेतना फैलाउने हाम्रो उद्येश्य हो ।’
शिविरमा विशेषज्ञ डाक्टरसहितको टालीद्वारा निःशुल्क स्वास्थ्य चेकजाँच, निःशुल्क सुगर जाँच तथा आवश्यकता अनुसार निः शुल्क आौषधी वितरणको व्यवस्था समेत गरिएको कार्यक्रम संयोजक विजय सेनले जानकारी दिनुभयो । शिविर सुरु भएयता हालसम्म १ हजार ४ सय बढी नागरिक लाभान्वीत भएको पनि उहाँले जानकारी गराउनुभयो । साथै यस अवधिमा बोलबम धाममा आउने सबै श्रद्धालुहरुलाई आफ्नो आधारभूत स्वास्थ्य अवस्थाको बारेमा अवश्य जानकारी लिन र स्वास्थ्य जनचेतना बाँढ्न उहाँले सुझाउनु भएको छ ।
यो शिविरलाई विभिन्न स्वास्थ्य तथा सामाजिक संघ–संस्थाहरुले सहयोग गरिरहेको छन् । जनअन्तर्गत पब्लिक हेल्थ फाउण्डेसन लुम्बिनी, एन.बि.आर, एशियन डाईग्नोष्टिक ल्याब्रोटोरी, आदि रहेका छन् ।