यसरी राष्ट्रमै नमूना बन्यो कालिका मानवज्ञान मा.वि.

33

यसरी राष्ट्रमै नमूना बन्यो कालिका मानवज्ञान मा.वि.

महेन्द्र थापा /

बुटवलको कालिका मानवज्ञान माविलाई म २०५७ सालदेखि जान्दछु । पहिले यो कालिका मावि थियो । २०५७ सालसम्म यसको अवस्था मध्यम खालको थियो । बुटवल नगर र रुपन्देही जिल्लामा सरकारी विद्यालयहरुमध्ये राम्रै विद्यालयमा गनिन्थ्यो । पूर्वाधार राम्रो थियो । पठन पाठनमा पनि मध्यम खालको विद्यालयमा गनिन्थ्यो । खासमा त्यसबेला सरकारी विद्यालयको महिमा कम थियो । सरकारी (सामुदायिक) विद्यालयलाई गरिब वर्गका विद्यार्थी अध्ययन गर्ने संस्थाका रुपमा हेय दृष्टिले हेरिन्थ्यो भने बोर्डिङ्ग (संस्थागत) विद्यालयको महिमा उत्कर्षमा पुगेको थियो । कालिका मावि बामपन्थी शिक्षक नेता छवि नेपाल भएको विद्यालयको रुपमा बढी चर्चित थियो, रुपन्देही जिल्लामा । छवि नेपाल सहायक प्रधानाध्यापक (प्रअ) हुनुहुन्थ्यो । कौशलराज बस्याल प्रधानाध्यापक भएपनि प्रशासनिक काम छवि नेपालले सम्पादन गर्नुहुन्थ्यो । बस्याल कुशल शिक्षक । नेपाल कुशल प्रशासक । राम्रोसंग जमेको थियो बस्याल र नेपालको नेतृत्व कालिका माविमा । यसैविचमा २०५५ सालमा नेतृत्व कौशल र प्रशासनिक गुण भएका अर्का उर्जावान शिक्षक घनश्याम पाठक कालिका माविमा बाग्लुङ्गबाट सरुवा भई आउनु भयो । बस्याल, नेपाल र पाठकको संयोजनमा संचालित हुन थाल्यो कालिका मावि ।
२०४६ साल अघिसम्म बुटवलमा सबैभन्दा राम्रो पूर्वाधार भएको र गुणस्तरीय पढाइको लागि साविक लुम्बिनी अञ्चलमा कहलिएको विद्यालय बुटवल मावि थियो । बुटवलका सामान्य परिवारदेखि संभ्रान्त परिवारसम्मका छोराछोरीको रोजाइको विद्यालय थियो बुटवल मावि । लुम्बिनी अञ्चलका अञ्चलाधिश, जिल्ला पञ्चायतका सभापतिहरु, उच्च प्रशासक र शिक्षित परिवारका छोराछोरीहरु बुटवल माविमा पढ्थे । पूर्वाधार र पठन पाठन दुबै राम्रो भएको विद्यालय थियो बुटवल मावि । अहिले पनि पूर्वाधार राम्रै छ । शिक्षक दरबन्दी पुरा छ तर अहिले विद्यार्थी कम भएर चल्न धौ धौ भईरहेको छ, २००८ सालमा स्थापित रुपन्देहीको सबैभन्दा जेठो विद्यालय बुटवल माविलाई ।
२०४६ सालको जनआन्दोलन पछि राजनितीमा परिवर्तन त आयो नै । सामाजिक परिवर्तन समेत आयो । २०४६ को राजनीतिक परिवर्तन पछि बुटवल मावि विस्तारै कमजोर बन्दै गयो । बटौली बजार सुक्दै जानु र खस्यौली बजार फैलदै जानुको कारण बटौलीका धनीमानी गन्य मान्यहरुको खस्यौलीतिर बसाई केन्द्रित हुनुको कारण पनि बुटवल मावि र उजिरसिंह मावि कमजोर बन्दै गएका हुन । २०४६ साल पछि बुटवलमा कालिका मावि र कान्ती मावि अगाडी बढे । अहिले कान्ति मावि पनि गुणस्तरीय पढाइको लागि लुम्बिनी प्रदेशमा अब्बल संस्थाको रुपमा स्थापित भएको छ भने कालिका मावि नेपाल राष्ट्रमै गुणस्तरीय पढाइको लागी अब्बल सस्थाको रुपमा स्थापित भएको छ ।
कालिका मावि स्थापनाको पृष्ठभुमीबारे अलिकती चर्चा गरौं । २०१७ सालसम्म हालको तिलोत्तमा नगरको ड्राइभरटोलदेखी बुटवल नगरको बाङ्गेकुसुम (हालको सडक डिभिजन कार्यालय) क्षेत्रसम्म विद्यालय थिएनन् । त्यही कमिलाई पूर्ति गर्दै २०१८ सालमा बुटवल कालिकानगर क्षेत्रका शिक्षाप्रेमी प्रबुद्ध व्यक्तिहरु जीत बहादुर गुरुङ्ग, रणबहादुर मल्ल, हर्षबहादुर मल्ल, लिलाधर देवकोटा, धनबहादुर वि.क., रणबहादुर गुरुङ्ग, गणेश बहादुर मल्ल, दलबहादुर थापा, शशिधर गौतम, अजित मल्ल लगायत मिलेर हालको बुटवल र तिलोत्तमाको दोसाँधमा रहेको योगीकुटी बगैंचामा विश्व शान्ती प्रावि स्थापना गरेका थिए । गाईगोठमा विद्यालय सञ्चालन गरिएको थियो । साँच्चीकै रोचक छ यो विद्यालयको यात्रा । २०२१ सालमा कालिकानगरको हालको स्थानमा स्थानान्तरण गरिएको हो । स्थापनाकालका शिक्षक मान बहादुर गलामी (प्रअ) र हर्ष बहादुर मल्ल हुन । दुबैजना स्वर्गिय भई सक्नु भएको छ । स्थापना कालमा ३०÷३५ जना विद्यार्थी भएको तथ्याङ्क विद्यालयको अभिलेखमा छ । हालसम्म जितबहादुर गुरुङ्ग, बुद्धि बहादुर थकाली, मानबहादुर गलामी, शेरबहादुर गुरुङ्ग, मनविर गर्बुजा, रामचन्द्र क्षेत्री, होम बहादुर गलामी गरी ७ जना व्यक्तित्वले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको भुमिका निर्वाह गर्नु भएको अभिलेख छ ।
२०२९ सालमा निमावि, २०३२ साल पुस १ मा मावि, २०६५ सालमा उच्च माविमा स्तरोन्नती भएको हो । एउटै वडाका दुई वटा टोल कालिकानगर र रामनगरमा सञ्चालित दुई वटा विद्यालय मध्ये कालिका माविमा विद्यार्थीको थेग्नै नसक्ने गरी चाप र अर्को २०४१ सालमा स्थापित मानव ज्ञान माविमा विद्यार्थीको कमी रहेकाले एकापसमा गाभिएर (मर्ज भई) २०७५ साल बैशाख १ गते देखि कालिका मानवज्ञान मावि नामाकरण भएको हो । पुरानो कालिका माविमा सेक्टर १ र मानव ज्ञान माविमा सेक्टर २ गरी विद्यालय सञ्चालित छ । दुबैमा गरी ७ हजार ६ सय ११ जना विद्यार्थी अध्ययनरत छन् । कुल ३ सय ५१ जना शिक्षक कर्मचारी सेवारत छन् ।
२०६५ सालमा जव घनश्याम पाठक कालिका माविको प्रअ भएर नेतृत्व लिनुभयो तब विद्यालयले झन राम्रो गति लियो । पाठकले प्रअको जिम्मेवारी लिँदा २४ जना शिक्षक कर्मचारी कार्यरत र ६ सय ६७ जना विद्यार्थी अध्ययनरत भएको तथ्याङ्क छ । पाठकले २०७७ सालमा विद्यालयबाट अनिवार्य अवकास लिँदा नेपालको सबैभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयको रुपमा बुझाउनु भएको थियो ।
मेरो विचारमा विद्यालय राम्रो बनाउन धेरै कुराको संयोजन मिल्नु पर्छ । पहिलो शर्त हो प्रअ योग्य र कुशल हुनुपर्छ । दैनिक रुपमा शिक्षक, विद्यार्थी र कक्षा कोठाको अनुगमनकर्ता प्रअ हो । पहिलो जवाफदेही प्रअ हो । विद्यालय व्यवस्थापन समिति र प्रअ विच स्वार्थको द्वन्द भयो भने विद्यालय राम्रो बन्न सक्दैन । पाठकले यो समस्या वेहोर्नु परेन । होम बहादुर गलामी र रामचन्द्र क्षेत्री दुबै पाठकका लागी अनुकूल मात्र नभई पाठकले तयार पारेका योजनाहरु हुबहु कार्यान्वयन गर्न सदा तत्पर अध्यक्ष रहे । जसले गर्दा विद्यालयले गति लियो । अभिभावकले विश्वास गरे । विद्यार्थीको चाप राम्रोसंग बढ्यो । यो विचमा कालिकानगर, देवीनगर, रामनगर, योगीकुटी क्षेत्रमा बस्ती बाक्लियो । जनसंख्याको चाप बढ्यो । यस क्षेत्रका प्रायजसो घरका विद्यार्थी कालिका माविमा भर्ना हुन तछाड मछाड गर्न थाले । अन्य जिल्लाका गाउँगाउँबाट छोरा छोरी पढाउन भनि बुटवल झरेका अभिभावकले कम शुल्कमा गुणस्तरीय पढाईको लागि कालिका माविलाई रोजे । अभिभावकले विद्यालयलाई आवश्यक नैतिक, भौतिक सबै सहयोग गर्न तत्परता देखाए । म पनि विद्यालयसँग घनिष्ठ तवरले जोडिएको थिएँ । विद्यालयको उपलब्धीलाई स्थानीय र राष्ट्रिय दुबै खाले सञ्चार माध्यममा ल्याउने काम निरन्तर सम्पादन गरें । विद्यालयको नेतृत्व र शिक्षकहरुलाई प्रोत्साहित गरी रहेँ । सरकारी विद्यालय नसुध्रिएसम्म शिक्षाको पहुँच विपन्न वर्गसम्म पु¥याउन सकिदँैन भन्ने मेरो मान्यता रहेको छ । यस विद्यालयलाई सञ्चार माध्यमसँग जोड्ने पहिलो पत्रकार म हो । सञ्चार माध्यमहरुले यो विद्यालयलाई महत्व दिए । विद्यालयमा अहिले पत्रकारिता पुरस्कारका तीन वटा अक्षय कोष स्थापित छन् । अरुण पौडेल स्मृती अक्षय कोष, भिमबहादुर फुलमाया श्रेष्ठ अक्षय कोष र रामबहादुर मिन कुमारी गुरुङ्ग अक्षय कोष । विद्यालयले पुरस्कृत तथा सम्मान गरेको पहिलो पत्रकार म हो । पत्रकारिता पुरस्कार स्थापना भएपछि धेरै पत्रकार साथीहरु विद्यालयबाट पुरस्कृत हुनुभयो । सञ्चार माध्यम र सञ्चारकर्मीहरुसँग घनिष्ठ सम्बन्ध गाँसियो विद्यालयको । प्रअको कुशल नेतृत्व, शिक्षक कर्मचारीको कडा मेहनत, अभिभावकको अपनत्व र पत्रकार तथा सञ्चार माध्यमको पूर्ण सहयोगको संयोजनमा कालिका मानवज्ञान मावि नेपाल राष्ट्रको उत्कृष्ट सामुदायिक विद्यालय बनेको हो । सञ्चार माध्यमले उपलब्धीलाई प्रचार प्रसार गरेर सहयोग गरे । शिक्षकले राम्रोसँग मेहनत गरेर पढाए । अभिभावकले विद्यालयको अपनत्व लिए । प्रअले कुशल नेतृत्व प्रदान गरे । त्यसपछि विद्यालय नगर, जिल्ला हुँदै राष्ट्रमै अब्बल संस्थाको रुपमा प्रतिष्ठीत भयो । अहिले गरीब वर्गदेखि सम्भ्रान्त वर्ग सम्मका र कमजोर देखि प्रतिभाशाली विद्यार्थी सम्मको रोजाईको केन्द्र बनेको छ कालिका मानवज्ञान मावि । लुम्बिनी प्रदेश क्षेत्रका विद्यार्थीहरुको पहिलो रोजाइको विद्यालय भएको छ । १० वर्षमा यसले फड्को मारेर राष्ट्रिय स्तरमा नमुना बनेको हो । यसले २०७३ सालमा सामुदायिकतर्फ नेपाल प्रथम भई राष्ट्रिय ध्वजा सहित सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेको गौरवपूर्ण उपलब्धी छ । त्यस्तै २०७४ सालमा राष्ट्रिय रुपमा तृतीय भई पुरस्कार प्राप्त गरेको छ । २०७५ सालमा नेपाल सरकारको नमुना विद्यालयमा छनौट भई हालसम्म अनुदान प्राप्त गर्दै आइरहेको छ । २०७१ सालदेखि हालसम्म प्रविधिकतर्फ नेपाल प्रथम भई पुरस्कृत हुँदै आइरहेको अभिलेख छ । उत्कृष्ट परिक्षा केन्द्रको रुपमा पनि पुरस्कृत भएको छ । कक्षा ११ र १२ को विज्ञान, व्यवस्थापन र कानूनमा पटक पटक नेपालमै उत्कृष्ट नतिजा हासिल गर्र्दै आएको छ ।
यसले पढाईमा मात्र नभई खेलकुद र अतिरिक्त कृयाकलापमा पनि बराबर ध्यान दिदै आएको छ । खेलकुदमा पनि नगर, जिल्ला र राष्ट्रिय स्तरमै उपलब्धी हासिल गर्दै आएको छ । प्लस टु मा यसका उत्पादनहरु स्नातक तहमा इन्जिनियरिङ्ग, चिकित्सा र व्यवस्थापन सङ्कायमा छात्रवृत्तिमा नाम निकाल्न धेरै विद्यार्थी सफल भएका छन् । पूर्वाधारयुक्त छ । सेक्टर १ र २ मा गरी विद्यालयको कुल जग्गाको क्षेत्रफल ५ विगाहा ८ कठ्ठा छ । विद्यालयको भवन ब्लक १६ वटा रहेका छन् । २ वटा पुस्तकालय र एउटा बाचनालय छन् । सम्पूर्ण कक्षा कोठा र प्रयोगशाला स्मार्ट छन् । विद्यार्थीलाई घरमा आवत जावत गर्न बसको व्यवस्था छ । जेनेरेटर, इन्टरनेट भुमिगत पार्किङ्ग, आधुनिक मन्टेश्वरी कक्षा, पिउने पानी, वातानुकुलित कम्प्युटर ल्याब, छात्रा छात्रहरुको स्तर र उमेर अनुसार डेक्स बेन्चको व्यवस्था आदि सम्पूर्ण पूर्वाधारले युक्त छ विद्यालय । विद्यालयको आर्थिक वर्ष ०७८÷०७९ को आम्दानी खर्च ३१ करोड ३९ लाख १९ हजार रुपैयाँ रहेको छ । कुल आम्दानीको २५ प्रतिशत भाग मात्र सरकारी अनुदान रहेको छ । बाँकी आम्दानी विद्यालयको व्यवसायिक भवनको भाडा र अभिभावक सहयोगबाट प्राप्त रकम हो । विद्यालयको सामाजिक सम्बन्ध निकै कसिलो छ । विद्यालयमा विद्यार्थीलाई छात्रवृत्ति र शिक्षक सम्मानको लागि २०६३ साल यता ५५ वटा अक्षयकोष सञ्चालित छन् । जसमा कुल १ करोड १३ लाख ३५ हजार रुपैया सङ्कलित छ । ५५ जना व्यक्तिले उक्त कोष स्थापना गर्नु भएको हो । यहाँ विद्यालयलाई प्रोत्साहित गर्ने अक्षयकोष दाताको नाम र सहयोग रकम उल्लेख गर्नु अवश्य पनि उचित हुनेछ । सरकारी विद्यालयहरु उपेक्षित रहेको अवस्थामा अक्षयकोष स्थापना गरीदिई विद्यालयलाई प्रोत्साहित गर्ने दाताको सम्मान गर्नु पर्छ । २०६३ सालमा शुरुमा सीतालक्ष्मी गोर्खालीले १ लाख ५१ हजार र नरबहादुर मल्लले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरीदिनु भएको थियो । त्यसपछि अर्पणाको स्मृतीमा १ लाखको अक्षयकोष, हिमादेवी क्षेत्री अक्षयकोषमा डेढलाख, त्रिलोचन चेतकुमारी अक्षयकोषमा १ लाख रुपैयाँ जम्मा गरिएको छ । यसैगरी शशिधर मैतीदेवी अक्षयकोषमा डेढलाख, लोमाकान्त सरिता अक्षयकोषमा १ लाख, गोपाल राना अक्षयकोषमा १ लाख १ हजार, बेनुराम यमुना प्रधान ट्रष्ट अक्षयकोषमा १ लाख ११ हजार, दलप्रताप सेन स्मृती अक्षयकोषमा १ लाख ५ हजार रुपैयाँ जम्मा गरिएको छ । गंगाहरी छात्रवृत्ति अक्षयकोषमा ५० हजार, चन्द्रकला राना अक्षयकोषमा १ लाख जम्मा गरिएको छ । दिलप्रसाद श्रेष्ठ, दिप्तान्शु श्रेष्ठ अक्षयकोषमा ५० हजार, डा. प्रज्वल श्रेष्ठ स्मृती अक्षयकोषमा ३ लाख १ हजार, मानबहादुर गलामी स्मृती अक्षयकोषमा ११ लाख रुपैयाँ जम्मा गरिएको छ । डा. कृष्ण बहादुर श्रेष्ठ अक्षयकोषमा २ लाख ५० हजार, द्वारिकामान सैजू स्मृती अक्षयकोषमा ५० हजार, सतलाल मनिषा पुन स्मृती अक्षयकोषमा ५० हजार रुपैयाँ जम्मा गरिएको छ । नरबहादुर श्रीकला स्मृती अक्षयकोषमा २ लाख, शिक्षक अभिभावक संघ अक्षयकोषमा ५० हजार, खुम भिमी स्मृती अक्षयकोषमा १ लाख, मानसिंह राजकुमारी स्मृती अक्षयकोषमा १ लाख १ हजार, मोतीलाल जैसी अक्षयकोषमा ५१ हजार, जनराज लम्साल स्मृती अक्षयकोषमा ५१ हजार, कृष्ण गंगादेवी सरस्वती स्मृती अक्षयकोषमा ७५ हजार, मनोहर खनाल अक्षयकोषमा १ लाख रुपैयाँ जम्मा गरिएको छ । लिलाम्बर पाठक र चित्र कुमारी पाठक अक्षयकोषमा १ लाख ११ हजार, पूर्णानन्द गिरी, दिपादेवी गिरी अक्षयकोषमा ५१ हजार, केशव खनाल अक्षयकोषमा ५१ हजार रुपैयाँ जम्मा गरिएको छ । साविक मानवज्ञान अक्षयकोषमा २ लाख, रामनगर सामुदायिक वन उपभोक्ता समिति अक्षयकोषमा १ लाख, नरमदा बस्याल स्मृती अक्षयकोषमा १ लाख १ हजार रुपैयाँ जम्मा गरिएको छ । जित नौली गुरुङ्ग स्मृती अक्षयकोषमा ५ लाख ११ हजार, गिरीराज तुलसा अक्षयकोषमा ५० हजार, भुपु शिक्षक अक्षयकोषमा १ लाख ८२ हजार, मनविर माया गर्बुजा पुन मगर अक्षयकोषमा ३ लाख १० हजार, राम बहादुर मिनकुमारी गुरुङ्ग अक्षयकोषमा २० लाख, नारायणी पाण्डे अक्षयकोषमा ५१ हजार, कुलमान सिंह गुरुङ्ग अक्षयकोषमा १ लाख ५० हजार, डा. मुकुन्दराज र रुक्मीणी पन्थी अक्षयकोषमा १ लाख ५ हजार, रामकाजी गुरुङ्ग स्मृती अक्षयकोषमा २ लाख ५ हजार रुपैयाँ जम्मा गरिएको छ । सपना अक्षयकोषमा १ लाख, मन्दिरा गलामी स्मृति अक्षयकोषमा ५ लाख, श्याम शान्ती गुरुङ्ग अक्षयकोषमा ४ लाख, श्रीकृष्ण ढिकुरी अक्षयकोषमा १ लाख ११ हजार, लक्ष्मी ज्ञवाली स्मृती अक्षयकोषमा ५ लाख, रेदिन थापा स्मृती अक्षयकोषमा १ लाख १ हजार, छवि नेपाल स्मृती अक्षयकोषमा २ लाख, सुर्यकुमारी थापा क्षेत्री स्मृती अक्षयकोषमा १ लाख, गौरव पोख्रेल स्मृती अक्षयकोषमा ५० हजार, कालिका मानवज्ञान भुपु विद्यार्थी अक्षयकोषमा १ लाख १ हजार र काशीनाथ खनाल स्मृती अक्षयकोषमा ५ लाख रुपैयाँ जम्मा गरिएको छ । त्यसमध्ये बुटवलका राम बहादुर मिन कुमारी दम्पत्तिले २० लाख रुपैयाँ जम्मा गरेर सबै भन्दा ठूलो रकमको अक्षय कोष स्थापना गर्नु भएको छ ।
विद्यालयले अहिले द्वन्द पिडित र अनाथ तथा असहाय वालवालिकाको लागि छात्राबासको पनि व्यवस्था गरेको छ । कुल २ सय जना सिट क्षमताको उक्त छात्रबासमा हाल २२ जना अनाथ बालवालिकाले आवासिय पढाईको सुविधा प्राप्त गरेका छन् । त्यसका लागि आर्थिक श्रोत व्यवस्थापनमा चुनौती छ । एक जना सामाजिक अभियन्ता लोक श्रीसले फेसबुक अभियानबाट ७१ जना दाताबाट ५ लाख ३३ हजार रुपैयाँ संकलन गराउनु भएको छ । यो अभियान जारी छ । १५ लाख रुपैयाँ सम्म पु¥याउने श्रीसको लक्ष्य छ । छात्रावासका लागि सरकारी अनुदान र स्थायी आयश्रोतको व्यवस्था चुनौती छ । भौतिक पूर्वाधार भने अत्यन्त राम्रो छ । यसमा हाल आवासिय सुविधा लिई रहेका विद्यार्थीहरु सन्तुष्ट र खुशी छन् । बुटवलका राम बहादुर मिनकुमारी गुरुङ्गले यस छात्राबासलाई गत पुस ७ गते २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको छ । भौतिक, शैक्षिक, व्यवस्थापकिय, सामाजिक र आर्थिक पक्ष विद्यालयका सवल पक्ष हुन । दुर्बल पक्षमा स्थायी आय श्रोतको कमी, कक्षा कोठाको कमी, माग अनुसार विद्यार्थी भर्ना गर्न नसक्नु, प्रविधिको उपयोगमा कमी आदी हुन् ।
विना हिचकिचाहट भन्नु पर्छ – कालिका मानवज्ञान माविको पछिल्लो यो उच्च सफलताको मुख्य आर्किटेक्ट घनश्याम पाठक र होमबहादुर गलामी हुन् । पाठकले गुणस्तरीय पढाई, कुशल प्रशासक तथा व्यवस्थापकको समेत अगुवाई गर्नुभयो भने गलामीले आफ्नो सामाजिक सम्बन्धलाई विद्यालयको विकास निर्माणमा उपयोग गर्नुभयो । व्यवस्थापन समितिको कुशल नेतृत्व गर्नुभयो । गलामीले ३ कार्यकाल १० वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेर कुशल नेतृत्व प्रदान गर्नुभयो । पाठकले अनिवार्य अवकाश लिएपछि अहिले दिनेश थापा प्रअ बन्नु भएको छ । उहाँ केही गरौ भन्ने हुटहुटी भएको युवा हुनुहुन्छ । योग्य र सुशिक्षित हुनुहुन्छ । नमुना विद्यालयको नियम अनुसार आन्तरिक प्रतिष्पर्धाबाट प्रअ छानिनु भएको हो ।
अहिले विद्यालय सफलताको उत्कर्षमा पुगेको छ । देशभरका हजारौ सरकारी (सामुदायिक) विद्यालयमध्ये उत्कृष्ट एक भएको छ । पूर्वाधारमा विद्यार्थीको चाप अनुसार चौरको कमी छ । विद्यालयमा जम्मा ६१ जना शिक्षक कर्मचारी सरकारी दरबन्दीका छन भने बाँकी विद्यालय श्रोत दरबन्दीका हुन् । पर्याप्त सरकारी दरबन्दी प्राप्त नहुनु अर्को समस्या हो । विद्यार्थीको चाप अनुसार अझै पूर्वाधारको कमी छ । यसतर्फ स्थानिय, प्रदेश र संघिय सरकारको ध्यान जानु जरुरी छ । अभिभावकको योगदानमा विद्यालय निर्भर छ । यसको अवलोकन गर्न बर्षेनी हजारौ संख्यामा देशभरबाट शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीहरु आउने गर्दछन् । सरकार र समुदायका लागि उदाहरण बनेको यो विद्यालयलाई हामी सबैले प्रोत्साहित गर्नु पर्छ । अस्तु
(पत्रकार थापा कालिका मानवज्ञान माविका पूर्व सल्लाहकार पनि हुनुहुन्छ)