‘रुपन्देही पत्रकारितामा मोफसलको राजधानी मात्रै नभएर गर्विलो जिल्ला पनि हो’

53

‘रुपन्देही पत्रकारितामा मोफसलको राजधानी मात्रै नभएर गर्विलो जिल्ला पनि हो’

नेपाल पत्रकार महासंघ रुपन्देहीको हालै १२ औं अधिवेशन तथा साधरणसभा सम्पन्न भएको छ । २०७७ साल चैत २५ गते भएको ११ औं अधिवेशनबाट रामराज पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । पत्रकारितामा मोफसलमा राजधानी मानिने रुपन्देही जिल्लालाई देशभरमा महत्वका साथ हेरिन्छ । पत्रकारहरुको संख्याको हिसाबले समेत धेरै संख्या रहेको रुपन्देहीमा ३ बर्षे कार्यकाल समाप्त हुँदै गर्दा के कस्ता कामहरु भए ? यिनै बिषयमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलसँग गरिएको कुराकानीको सम्पादीत अंश ।

पत्रकार महासंघको ३ बर्षे कार्यकाल कस्तो रह्यो ?

नेपाल पत्रकार महासंघ रुपन्देहीको ११ औं अधिवेशनबाट २०७७ साल चैत २५ गते भएको निर्वाचनबाट मेरो नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । मैलै नेतृत्व समाल्दा कोभिड महामारीको दोस्रो लहर शुरु हुनेक्रममा थियो । लगतै भयावह रुप लियो । जसका कारण तीज दर्जन बढि पत्रकार साथीहरु कोभिड संक्रमित र २ जना साथीहरु हिक्मत चौधरी र विन्दुकुमार चौहानलाई गुमाउनुप¥यो । यसका साथै विभिन्न कारणले यस अवधिमा ७ जना पत्रकारहरुलाई गुमाउनुप¥यो, जुन हाम्रो लागि अत्यन्तै दुःखद क्षण हो । यस्तो अकल्पनीय महामारीको पिडामा महासंघको तर्फबाट मलम लगाउने प्रयत्नहरु भएँ । संक्रमित साथीहरुलाई पनि अस्पतामा उपचारका लागि सहजीकरण, आर्थिक सहयोग, स्वास्थ्य सामाग्री वितरण, उपचारका लागि अक्सिजनको व्यवस्थापन जस्ता कामहरु भए । वास्तवमा त्यो क्षण सम्झदा पनि अहिले कथा जस्तो लाग्छ । त्यतिखेर हाम्रो टिम उपाध्यक्ष, सचिव, कोषाध्यक्ष सहितका पदाधिकारी र सदस्यहरु रातदिन खटेका थियौं । कोभिडको महामारीसँगै शुरु भएको पत्रकार महासंघ रुपन्देहीको कार्यकालमा सकभर पत्रकारहरुको पेशागत हकहित, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा काम गर्ने प्रयत्न गर्यौ । नेपाल पत्रकार महासंघको भवन रंगरोगन, कार्यकक्ष व्यवस्थापन, सटर निर्माण गरेका छौं । यस्तै पत्रकार क्षमता अभिवृद्धिका कार्यक्रमहरु अन्तर्गत पत्रकारिता तालिमहरु सञ्चालन भए । पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । उत्कृष्ट पत्रकारिता पुरस्कारको राशी बृद्धिका लागि काम भएको छ । यस्तै पत्रकारहरुको क्षमता अभिबृद्धि, पत्रकारहरुलाई दुःखमा साथ दिने जस्ता कामहरु गरेका छौं । समग्रमा यो कार्यकालमा टिमवर्कमा काम गर्ने अभ्यास ग¥यौं । समग्रतामा कार्यकालमा संस्थागत विकास, क्षमता अभिबृद्धि र विकेन्द्रीकृत रुपमा काम गर्ने थालनी यो कार्यकालमा भएको छ । मेरो विश्लेषणमा कार्यकाल पूर्ण रुपमा सफल बन्यो भन्ने लाग्छ ।

पछिल्लो समय पत्रकारहरु टिक्न नै मुस्किल भएका छन्, त्यस्ता पत्रकारहरुको सन्दर्भममा तपाईहरुले के गर्नुभयो ?

पत्रकारहरुलाई पेशामै टिकाईराख्ने कुरा अहिलेको मुख्य चुनौती हो । महासंघले पत्रकारहरुको पेशागत हकहित, व्यवासयिक क्षमता अभिबृद्धिमा ध्यान दिएर काम गर्ने गर्छ । मुख्य गरी कोभिडपछि देखा परेको आर्थिक संकटका कारण पत्रकारहरुलाई पेशामा टिकाउन चुनौती देखा परेको हो । साना लगानीका जिल्लाका मिडिया हाउसहरु आर्थिक रुपमा कमजोर हुँदा त्यसले पत्रकारहरुलाई प्रत्यक्ष प्रभाव पारेको छ । यहि कुरालाई मध्यनजर गरेर हामीले पत्रकारहरुलाई तालिम मात्रै सञ्चालन नगरी फेलोसिप दिने प्रयत्न गर्यौं । हामीले बुटवल उपमहानगर र अन्य संसघंस्थाहरुसँग सहकार्यमा फेलोसिपका कार्यक्रमहरु ग¥यौं । यद्यपि यो प्रयाप्त भने थियो भनेर म भन्न सक्दीन । यसका अतिरिक्त रुपन्देहीका स्थानीय सरकारका प्रमुख उपप्रमुखहरुसँग स्थानीय मिडियाका सन्दर्भमा पनि छलफल गरेका थियौं । स्थानीय तहले स्थानीय मिडिया प्रवद्र्धनका लागि हामीले छलफलहरु ग¥यौं । प्रदेश सरकार र अन्य विभिन्न निकायहरुमा पनि यस्ता बिषयमा बहस ग¥यौं ।

विगतदेखि नै रुपन्देहीलाई मोफसलमा पत्रकारिताको राजधानीका रुपमा हेरिन्छ, के अहिले त्यो शाख छ त ?

छ, किनकी २०४६ सालको जनआन्दोलन, ०६२/६३ को आन्दोलनमा यहाँका पत्रकारहरुको भूमिका उल्लेख्य देखिन्छ । रुपन्देहीमा पत्रकारहरु पनि विचारका संवाहक हुन् भन्ने कुरा स्थपित गरिएको छ । यसै कारणले पनि रुपन्देही र खासगरी बुटवलाई हव मानिन्छ । यो त एउटा ऐतिहासिक र राजनीतिक कुरा भयो । सञ्चारमाध्यम र पत्रकारहरुको सक्रियताका हिसाबले पनि रुपन्देही हवका रुपमा विगतदेखि नै थियो र अहिले पनि छ । विश्वव्यापी आर्थिक संकटका बेलामा पनि रुपन्देही जिल्लामा ६ वटा दैनिक पत्रिका, आधार दर्जन साप्ताहिक, दुई दर्जना भन्दा बढि एफएम रेडियो, एक दर्जन टेलिभिजन र दर्जन बढि अनलाईनहरु नियमित र व्यवसायिक रुपमा चलिरहेका छन् । त्यहाँ कार्यरत सञ्चारकर्मीहरुले तुलानात्मक रुपमा आर्थिक र भौतिक हिसाबले पत्रकारहरुले सहज महसुस गरेका छन् । यसका अतिरिक्त यहाँको पत्रकारहरुको सामाजिक हैसियत बिशिष्टखालको छ । यहाँ पत्रकार आचार संहिता पनि अन्य जिल्लासँग तुलाना गर्दा राम्रो देखिन्छ । यीनै कारणले रुपन्देही पत्रकारितामा मोफसलको राजधानी हो भने यो पत्रकारिताको हिसाबले गर्विलो जिल्ला हो भन्ने मेरो बुझाई छ ।

तपाईको कार्यकालमा शुद्धिकरणको मुद्धा निकै पेचिलो बन्यो ? कार्यान्वयन होला त ?

हो, यो नेपाल पत्रकार महासंघको इतिहासमै भएको नयाँ र चुनौतीपूर्ण कार्य हो । महासंघको केन्द्रीय साधरणसभाले पारित गरेको शुद्धिकरण मापदण्ड कार्यान्वयन गर्नु जिल्ला शाखाको दायित्व भित्र पर्दछ । त्यसैपनि पत्रकार र पत्रकारिताका बिषयमा प्रश्न उठिरहेको थिएँ । यहि बेला जो पत्रकारितामा सक्रिय छैनन्, उनीहरुलाई सदस्यता त्याग्न हामीले आग्रह गरेका हौं । सोही आग्रह र शुद्धिकरण मापदण्ड अनुसार नै रुपन्देही जिल्लामा पनि कार्यान्वयन भएको हो । यस बिषयमा अनेक कोणबाट ब्याख्या र विश्लेषण गर्न त सकिएला तर, यो समयको मागका रुपमा हामीले बुझ्न पर्छ । यो एउटा अभियान हो, यो निरन्तर चल्छ । म अध्यक्ष भएको बेलामा यो शुरुवात भएको छ, यसलाई सबैले चुनौती भन्दा पनि अवसरका रुपमा लिनुपर्छ भन्ने मेरो बुझाई छ । जहाँसम्म कार्यान्वयनको सवाल हो, जिल्लाका तर्फबट सबै संघसंगठनहरुसँग छलफल गरेर सहमती नै गरेर शुद्धिकरण गरेर प्रदेश हुँदै केन्द्रमा पठाएका छौं । यसर्थ यो कार्यान्वयन हुन्छ ।

अन्त्यमा केही भन्नु छ ?

नेपाल पत्रकार महासंघ रुपन्देहीमा संस्थागत सहकार्य गर्ने कुरालाई मुख्य ध्यान दिए । पत्रकारहरुको पेशागत सुरक्षा र भौतिक सुरक्षा, पत्रकारहरुको क्षमता अभिबृद्धि, महासंघको संस्थगत विकास र पत्रकार र अन्य संघसंस्थाहरुको विकासमा महासंघको यो तीन बर्षमा काम गरेँ । खासगरी यसरी काम गर्दा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, पदाधिकारीहरु, कार्यसमितिको सिंगो टिम, पत्रकार सम्बद्ध संघसंगठनहरुको निकै रचनात्मक साथ सहयोग पाएँ । रुपन्देहीका प्रशसनदेखि संघसंस्था, राजनीतिक दल एंव सम्पूर्ण सदस्य पत्रकार साथीहरुको साथ सहयोग हाम्रो लागि अविष्मरणीय नै रह्यो । म सबैलाई बिशेष धन्यवाद दिन चाहन्छु ।