बागलुङमा बुटवल हस्पिटलको स्वास्थ्य शिविर

1.3K

बागलुङमा बुटवल हस्पिटलको स्वास्थ्य शिविर

सरकारबाट एक सय बेड संचालन अनुमती पाएको बुटवल हस्पिटल प्रा.लि.ले बाग्लुङको बरेङमा स्वास्थ्य शिविर गरेको छ । अस्पतालका बिशेषज्ञ चिकित्सकहरुको सहभागितामा भएको शिविरमा ६ सय भन्दा बढि बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।
बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौर नयाँ बजार स्वास्थ चौकीमा भएको निःशुल्क स्वास्थ शिविरबाट सेवाग्राहीले बिशेषज्ञ स्वास्थ्य सेवा तथा निःशुल्क औषधि समेत पाएका छन् । शिबिरको बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौर, धनमुडा चौर समाज बुटवलको आयोजना तथा बुटवल हस्पिटल प्रा.लि.बुटवलको प्राविधिक सहयोग रहेको थियो ।
शिविरको उद्घाटन गर्दै बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले गांउमा रोग लुकाएर बसेका बिरामीहरुले यस्ता शिबिरबाट रोग पहिचान भई औषधी उपचार पाउनुका साथै ज्यानै बचाउने काम हुने बताउनु भयो ।
त्यस अवसरमा धनमुडा चौर समाज बुटवलका अध्यक्ष देव थापाले आफुहरु बसाई सराई गरि तराईमा बसे पनि आफ्नो जन्मस्थानमा निःशुल्क शिविर मात्र नभएर अन्य समाज सेवाका कार्यक्रम राख्न हरेक समय तयार रहेको बताउनु भयो । शिविरमा दम, आँखाका बिरामीहरु बढि भेटिएको थियो । उनीहरुलाई औषधी तथा चश्मा निःशुल्क वितरण गरिएको थियो ।
बिरामिहरुले आफ्नै ठाउँमा विशेषज्ञ डाक्टरबाट सेवा लिन पाएकामा खुसी व्यक्त गरेका थिए । निःशुल्क शिविरमा बुटवल हस्पिटल प्रा.लि.का बरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा. पुष्पराज ढकाल, हार्डजोर्नी तथा नशा रोग बिशेषज्ञद्वय डा. उत्सव रेग्मी, डा.संजिव आचार्य, बरिष्ठ जनरल फिजिसियन डा.सागर पौडेल, वलारोग बिशेषज्ञ डा. प्रदिप शर्मा,डा. सुनिल सुनार, डा. दिपक ढकाल, डा. उमेश वेलवासे, डा. प्रविना कुँवर, डा. अमृत बस्याल, डा. हरिराम पन्थी र डा. प्रतिक सापकोटा लगायल ल्याव टेक्निसियन समूह तथा औषधी वितरक समूह र बाटाकाचौर स्वास्थ चौकीका स्वास्थकर्मीहरुको विशेष भूमिका रहेको थियो । शिबिरमा बुटवल हस्पिटल प्रा.लि.का तर्फबाट मेडिकल कोडिनेटर राजु पौडेल र मार्केटिङ म्यानेजर सुमन तिमिल्सीनाले संयोजन गर्नुभएको थियो ।
शिविर वडा नं. ३ मा आयोजना भएपनि बरेङ गाउंपालिका भरिकै बिरामीहरुले सेवा लिएका थिए । सो अवसरमा वडा अध्यक्ष शेरबहादुर खनालले आफुले वडाको तर्फबाट गर्न लागेको शिविरलाई बृहत बनाउन बुटवल हस्पिटल प्रा लि का अध्यक्ष चुन्नप्रसाद पौडेल र धनमुडा चौर समाजका अध्यक्ष देव थापाको टिमले ठुलो भुमिका खेलेको बताउनु भयो ।