बुटवलमा विद्यालय स्तरीय मेयर कप क्रिकेट सुरु : हाेराईजनकाे विजयी सुरुवात

1.3K

बुटवलमा विद्यालय स्तरीय मेयर कप क्रिकेट सुरु : हाेराईजनकाे विजयी सुरुवात

बुटवलमा प्रथम मेयर कप विद्यालयस्तरिय क्रिकेट प्रतियोगिता सुरु भएकाे छ । बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिकाे आयाेजनामा नरेनापुर क्रिकेट मैदानमा सुरु भएकाे प्रतियाेगितामा १७ टिम प्रतिस्पर्धामा छन् ।
प्रतियाेगिताकाे उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले पूर्वाधार विकास र खेल प्रतियोगितालाई संगसंगै लैजानेगरी पालिकाको योजना बनाएकाे बताउनु भयाे । देशकै नमुना र उत्कृष्ट क्रिकेट मैदान बनाउने गरि नरेनापुरको काम अघि बढाएको बताउँदै बुटवललाई खेलबाट चिनाउने काम भईरहेकाे उहाँले बताउनु भयाे ।
त्यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई खेलकुद हवकाे रुपमा विकास गर्न खाेजिएकाे बताउदै हरेक विधाका खेलकुदका पूर्वाधार विकास र खेल प्रतियाेगितालाई प्राथमिकता दिईएकाे बताउनु भयाे ।
कार्यक्रममा नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले विद्यालय स्तरमा खेलकुद शिक्षक राख्ने परिपार्टीको पछिल्लोसमय विकास भैरहेको भन्दै यसबाट खेल विकासमा महत्वपुर्ण टेवा पुगेको बताउनुभयाे । हरेक ब्यक्ति खेलमा आवद्घ भएमात्र खेल बुझ्ने बताउँदै विद्यालयस्तरको खेलाडी उत्पादन गर्न लक्ष्यसहित कार्यक्रम महत्वपूर्ण भएको बताउनु भयाे । उहाँका अनुसार प्रतियोगिताको उपाधि विजेतालाई ५० हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई ३० हजार रुपैया नगद पुरस्कार सहित कप र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा म्यान अफ द सिरिज ८ हजार तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलाई जनही ५ हजार रुपैया, मेडलबाट प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । त्यसैगरी प्रति खेलाडी १ लाख रुपैयाकाे दुर्घटना विमन र क्यानको समन्वयमा प्राविधिक पक्षलाई अघि बढाईएको छ । प्रतियाेगिता जेठ ९ गतेसम्म संचालन हुने छ ।

प्रतियाेगिताकाे उद्घाटन खेलमा न्यू होराईजन बोर्डिङ स्कुलले विजयी शुरुवात गरेको छ ।
खेलमा न्यू होराईजनले गार्गी एकेडेमीलाई १११ रनकाे अन्तरले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोज्दै न्यू होराईजनले निर्धारित १५ ओभरमा १४६ रनको लक्ष्य दिएको थियो । खराब शुरुवात गरेको होराईजनका मध्यम क्रममा ब्याटरहरु टिक्दा खेलमा जित निकाल्न सफल भयो । छैटौ नम्बरमा मैदान छिरेका सिद्धार्थ ढकालले खेलमा अर्धसतकिय पारी खेलेका थिए । उनले चार चौका र चार छक्काको मद्तले १९ बलमा ५२ रन जोडे । सातौ नम्बरमा ब्याटर समिर ठकुरीले २० रनको योगदान दिए । गार्गी एकेडेमीका शिभया दर्लामीले ३ तथा अप्सन जिसी र आयुष खत्रीले समान २–२ बिकेट लिए ।  मध्यम लक्ष्य पछ्याएको गार्गी ७.५ ओभरमा केवल ३५ रनमा समेटियो । ओपनर सुजल बश्यालले १० तथा अप्सन बिक्रम जिसीले २१ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन । कम स्कोरमा रोक्न होराईजनका प्रिन्स पालले ४ तथा शुभम पाण्डेले ३ बिकेट लिए । खेलमा न्यू होराईजनका प्रिन्स पाल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।