बुटवलको न्यू होराईजनमा एसईईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सोमबार सम्मान गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्दद्र कसजू तथा प्राचार्य लोकनाथ उपाध्यायले उत्कृष्ट विद्यार्थी र तीनका अभिभावकलाई सम्मान गर्नुभएको हो । त्यस अवसरमा विद्यालयका अध्यक्ष कसजुले उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उज्जवल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्राचार्य उपाध्यायले गुणस्तरीय शिक्षाका लागि विद्यालय सधैँ दत्तचित्त रहेको बताउनु भयो । शिक्षक, विद्यार्थी र अभिभावकहरुको मेहेनतकै कारण संस्थागततर्फ बुटवलमा पहिलो र न्यू होराइजनको इतिहासमै सर्वोकृष्ट नतिजा आएको उहाँले बताउनुभयो ।
त्यस्तै ४ जीपिए ल्याएका विद्यार्थी बेदान्त गौतमले न्यू होराइजनमा अध्ययनका लागि उत्कृष्ट शैक्षिक वातावरण रहेको र आगामी शैक्षिक यात्रापनि यसै विद्यालयबाटै अघि बढाउने योजना बनाएको बताउनु भयो ।
अभिभावक गंगाराम भट्टराई र सुमित्रा शर्मा उत्कृष्ट नतिजा र राम्रो शैक्षिक वातावरण भएका कारण बुटवल बाहिरका विद्यार्थी र अभिभावकको रोजाइमा न्यू होराइजन पर्ने गरेको बताउनु भयो । एसईई पछिको उच्चशिक्षामा बालबालिकाको रुचि र चाहाना अनुसारको विषय छनोट गरी भर्ना गरेमा सफल हुन सकिने उहाँहरुको भनाई थियो ।
एसईईमा न्यू होराइजनबाट ११ जना विद्यार्थीले ४ जीपीए, १२५ जना विद्यार्थीले ‘ए प्लस’, ९९ जना विद्यार्थीले ‘ए’, ५९ जना विद्याथीले ‘बि प्लस’ र ६ जना विद्यार्थीले ‘बि’ ग्रेड ल्याउन सफल भएको विद्यालयका उपप्राचार्य बासुदेव अर्यालले जानकारी गराउनु भयो ।
साथै कक्षा ११–१२ मा विज्ञान तथा व्यवस्थापन विषय अध्ययन गर्न चाहाने विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधार तथा दक्ष, अनुभवी एवं पूर्णकालीन प्राध्यापकसँगै उत्कृष्ट वातावरण रहेको विद्यालयले जनाएको छ । विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारीको स्वागत तथा शिक्षक प्रकाश गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।