बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम

467

बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम

Butwal-Sub-Metro-Municipality

बुटवल । बुटवल उपमहानगरपालिकाले शहरी विकास गुरुयोजना बनाउने भएको छ । योजना तर्जुमा भइसकेका र प्रक्रियामा रहेका समेत कार्यालय परिसर, प्रदर्शनी स्थल, नगर यातायात, (एमटीएमपी), भूउपयोग र समग्र बुटवलको शहरी विकास गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गर्ने उपमहानगरपालिकाले जनाएको छ ।

नगरपरिषदबाट पारित आर्थिक वर्ष ०७३-०७४ को बजेट, नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गर्दै उपमहानगरपालिकाले सामाजिक क्षेत्रका महिला, बालबालिका, अपाङ्ग र वातावरणसंग सम्बन्धित १० अभियान पूरा गरी पूर्ण मानवताको शहर बुटवल उपमहानगर (सिटी अफ ह्यूम्यानिटी) निर्माण गर्ने जनाएको छ ।

बुटवल नगरभित्र र वरिपरि निर्माण भइसकेका र भइरहेका लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–सुनौली सडक विस्तार, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण तथा प्रदर्शनी स्थलको विकासका प्रयास, लुम्बिनी गुरुयोजनाको कार्यान्वयन तथा ग्रेटर लुम्बिनीले पाएको प्राथमिकता, मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, राजनीतिक दल र नागरिकको विकासप्रति सकारात्मक चेतनास्तर,सुदृढ व्यावसायिक संघसंस्थाहरु, शिक्षा, स्वास्थ्य, सञ्चार क्षेत्रमा भएको प्रगति अवसरको रूपमा रहेकाले पर्यटन, उद्योग र व्यापारको प्रशस्त सम्भावना रहेकोले ‘सबल आर्थिक केन्द्र, समुन्नत बुटवल’ सफल हुने उपमहानगरपालिकाका प्रमुख ध्रुवबहादुर खड्काले बताए ।

यसैगरी सडक बत्ती व्यवस्थापनमा विस्तार, पाँच वर्षभित्र हरित नगरको पहिचान थप गर्ने गरी वातारणको क्षेत्रमा योजनाबद्ध कामको थालनी, भवन संहिता, भवन मापदण्ड तथा सुरक्षित आवाससम्बन्धी नीतिको कार्यान्वयन, भ्रष्टाचारशून्य सहनशील उपमहानगर घोषणा, घरहरुको मेट्रिक प्रणालीमा नम्बरिङ लगायतको योजना अघि सार्दै उपमहानगरपालिकाले पाँच वर्षभित्र बुटवललाई ‘सेन्टर अफ एक्सलेन्स’ बनाउन आइएसओ १४००० प्राप्त गर्न योग्य बनाउने कार्ययोजना अघि सारेको छ । ६१ करोड ३९ लाखको बजेट सार्वजनिक बुटवल उपमहानगरपालिकाले आ. व. ०७३-७४ को लागि रु. ६१ करोड ३९ लाख २७ हजार २ सय ९ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

बुटवल उपमहानगरपालिकाद्वारा आइतबार आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले गत पुस २६ गते नगरपरिषदद्वारा पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उप म.न.पा.द्वारा सार्वजनिक बजेट अन्तर्गत आयतर्फ सरकारी अनुदानतर्फ १९ करोड १५ लाख, अन्य अनुदान तथा ऋणतर्फ १७ करोड ४२ लाख ५० हजार, जि.वि.स. अनुदान १ करोड ७३ लाख, स्थानीय कर आम्दानीतर्फ ६ करोड १५ लाख, दस्तुरतर्फ ४ करोड ३८ लाख २५ हजार, सेवा शुल्कतर्फ २ करोड ७६ लाख २५ हजार, उपभोक्ता सहभागिता ४ करोड ९० लाख, अन्य आय २ करोड ९३ लाख ३७ हजार लगायतको अनुमान गरिएको छ ।

त्यसैगरी व्ययतर्फ फिर्ता खर्च-सम्पूरक कोषहरुतर्फ ३० करोड ९५ लाख ८९ हजार, उपभोग खर्चतर्फ ९ करोड ५१ लाख ९० हजार, सामाजिक सुरक्षा कार्यक्रममा ५ करोड ३० लाख, पूर्वाधार विकास कार्यक्रमतर्फ ४ करोड ७४ लाख, प्रबद्र्धनात्मक कार्यक्रमतर्फ ३ करोड १३ लाख १३ हजार, सेवा खर्चतर्फ २ करोड ५३ लाख २५ हजार, महिला विकास कार्यक्रमतर्फ १ करोड २५ लाख ९० हजार, बालबालिका विकास कार्यक्रममा १ करोड २२ लाख २५ हजार, आदिवासी, जनजाति, जेष्ठ नागरिक,
अपांगता भएका व्यक्ति,, मधेसी, मुस्लिम पिछडिएका वर्ग विकास कार्यक्रमतर्फ १ करोड ८२ लाख ९५ हजार लगायतको खर्च अनुमान गरिएको छ ।