औषधि व्यवसायी संघ रूपन्देहीको अध्यक्षमा भट्टराई

1.3K

औषधि व्यवसायी संघ रूपन्देहीको अध्यक्षमा भट्टराई

नेपाल औषधि व्यवसायी संघ रूपन्देहीको तेस्रो अधिवेशनले पुरुषोत्तम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
शनिबार बुटवलमा सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा नारायणबहादुर थापा, उपाध्यक्ष (थोक) मा कृष्णप्रसाद शर्मा पोखरेल, उपाध्यक्ष (खुद्रा) मा माधवप्रसाद खनाल, महासचिवमा केदारनाथ नेपाल, कोषाध्यक्षमा कपिल ज्ञवाली, सचिवमा उमेशचन्द्र आचार्य र उपकोषाध्यक्षमा एकादेव बस्याल निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा गुज्जन ढकाल, दीपक अधिकारी, मुकेश श्रेष्ठ, मोतिलाल खनाल, लेखनाथ न्यौपाने (गणेश), सजना श्रेष्ठ र सुभेच्छा गौतम निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनमगरले वैदेशिक रोजगारीका कारण युवा पलायन र जनसंख्या घट्दा व्यवसायमा समेत असर परेको बताए । उनले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सबै पक्षको भूमिका आवश्यक रहेको उल्लेख गर्दै औषधि व्यवसायीका समस्या संकलन गरी मन्त्रालयमा ल्याउन आग्रह गरे । व्यवसायीका जायज समस्या सम्बोधन गर्न आफूले पहल गर्ने उनको भनाइ थियो ।
नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेवालले खुला सीमाका कारण बजारमा नक्कली औषधि भित्रिने क्रम बढेको भन्दै त्यसको कडा नियन्त्रण गर्न सरकारसँग माग गरे । विपद्का समयमा औषधि व्यवसायी संघले अग्रसर भएर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि उनले बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले औषधि व्यवसायी संघजस्ता व्यवस्थित संस्थाका कारण बुटवलको गरिमा बढेको बताए ।
संघका पूर्वकेन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले व्यवसायीहरू कठिन अवस्थामा रहेको भन्दै राज्य स्वयं व्यापारीको भूमिकामा प्रस्तुत हुँदा निजी क्षेत्रलाई थप समस्या परेको बताए । व्यवसायीको हकहित र अधिकार संरक्षणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपानेले औषधि व्यवस्था विभागले संघीय संरचनाअनुसार प्रदेशस्तरीय शाखाको व्यवस्थापन गर्न नसक्दा व्यवसायीले समस्या भोग्नुपरेको बताए । उनले व्यवसायीको हकहित र व्यावसायिक एकताका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे ।
अधिवेशनमा अध्यक्ष खड्गबहादुर बस्नेतले आफ्नो कार्यकालमा भएका काम समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव कृष्णप्रसाद शर्मा पोखरेलले गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल, पूर्वकेन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, पूर्वलुम्बिनी अञ्चल अध्यक्ष डा. रोहितराज क्षेत्री र पूर्वकेन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठलगायतले शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम भट्टराईले संस्थाको गरिमा उच्च राख्दै औषधि व्यवसायीको हकहित, अधिकार संरक्षण र व्यवसायलाई व्यवस्थित बनाउन प्रतिबद्ध भएर काम गर्ने बताए ।