नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार, २०८३ असोज २८ गते (१४ अक्टोबर २०२६) मनसुन पूर्ण रूपमा बाहिरिएको घोषणा गरेको हो ।
महाशाखाका अनुसार यस वर्ष गत असोज १७ गते (३ अक्टोबर) देखि पश्चिम नेपालका विभिन्न भूभागबाट मनसुन बाहिरिन सुरु भएको थियो । सुरुमा सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन थालेकोमा क्रमशः देशका अन्य भूभागबाट पनि बाहिरिएको हो ।
विभागले सार्वजनिक गरेको नक्साअनुसार यस वर्षको मनसुन बाहिरिने प्रक्रिया असोज १७ गतेदेखि सुरु भई असोज २८ गते सम्पन्न भएको छ । सामान्यतया नेपालबाट मनसुन असोज २ गतेतिर बाहिरिने भए पनि यस वर्ष करिब १२ दिन ढिलो गरी मनसुन बाहिरिएको विभागले जनाएको छ ।
मनसुन बाहिरिएसँगै वर्षायामको अन्त्य भएको संकेत मिलेपनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा वर्षा हुन सक्ने सम्भावना रहन्छ ।