व्यापार संघमा शुभकामना आदानप्रदान : व्यावसायिक संरक्षण र विकासमा जोड

1.3K

व्यापार संघमा शुभकामना आदानप्रदान : व्यावसायिक संरक्षण र विकासमा जोड

रुपन्देही व्यापार संघमा बडादसैँ, तिहार, छठ तथा नेपाल संवत्लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले खस्किँदो व्यापारलाई उकास्दै व्यावसायिक संरक्षण, प्रवर्द्धन र विकासमा जोड दिएका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री विष्णु पन्थीले सबै पर्वको आ-आफ्नै सांस्कृतिक महत्त्व रहेको उल्लेख गर्दै यस्ता पर्वले आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने बताए ।
प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति हुँदा समाजका विभिन्न क्षेत्र प्रभावित भएको उल्लेख गर्दै उनले विपत्तिको पीडामा रहेका नागरिकप्रति सहानुभूति व्यक्त गरे । रुपन्देही देशकै चलायमान आर्थिक क्षेत्रमध्ये एक रहेको र यहाँ व्यावसायिक तथा औद्योगिक विकासको उच्च सम्भावना रहेकाले यस क्षेत्रलाई आर्थिक राजधानीका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो । उनले चुनौतीका बीच पनि आशावादी भएर आर्थिक गतिविधि अघि बढाउन आग्रह गरे ।
संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, पूर्वअध्यक्ष टंकप्रसाद पोखरेल र मोतिलाल पाण्डेलगायतले शुभकामना व्यक्त गरेका थिए । वक्ताहरूले व्यापार व्यवसायमा देखिएका समस्याको समाधान, निजी क्षेत्रको मनोबल वृद्धि तथा व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तव, संघको सल्लाहकार परिषद्का संयोजक तथा मणिमुकुन्द सेन उद्यान (फूलबारी) का नवनिर्वाचित अध्यक्ष माधव नेपाल र आजीवन सदस्य परिषद्का संयोजक ऋषिबहादुर भण्डारीले पनि शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका नवनिर्वाचित वाणिज्य उपाध्यक्ष मुक्तिप्रसाद अधिकारी, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, उद्योग व्यापार संघका वाणिज्य उपाध्यक्ष यमलाल मरासिनी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष दया भण्डारी र महासचिव प्रकाश पौडेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा हालै सम्पन्न अधिवेशनबाट माधव नेपालको नेतृत्वमा निर्वाचित मणिमुकुन्द सेन उद्यान (फूलबारी) को नयाँ कार्यसमितिलाई सम्मान गरिएको थियो । त्यसैगरी आन्तरिक राजस्व कार्यालय भैरहवाबाट अर्थ मन्त्रालयमा सरुवा भएका प्रमुख कर अधिकृत प्रेमराज पोखरेललाई बिदाइ गरिएको छ ।