रसुवा, नुवाकोटलगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको कांग्रेस प्रतिनिधिमण्डलले एक करोड रुपैयाँ बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो । प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलसहित पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे र रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेताहरू सहभागी थिए ।
यहि भदौ १० गते रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी, त्रिशूलीलगायतका नदीमा आएको विनासकारी बाढीले ठूलो जनधनको क्षति गरेको छ । बाढीपहिरोका कारण कैयौँ परिवार विस्थापित भएका छन् भने सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ ।
रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले विपद्को घडीमा प्रभावित नागरिकलाई तत्काल राहत, स्वास्थ्योपचार तथा सुरक्षित आवासको व्यवस्था गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पार्टीले सरकारलाई आर्थिक सहयोग गरेको बताए ।
उनले संकटका बेला नेपाली कांग्रेस बाढीपहिरो प्रभावित नागरिकको साथमा रहेको बताउँदै उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे ।
विशेषगरी सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका तथा अलपत्र परेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै पौडेलले उद्धार कार्यमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए । उनले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित नागरिकको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन माग गरे ।
राहत वितरणमा पारदर्शिता कायम गर्न र आगामी दिनमा विपद् व्यवस्थापनको कामलाई थप चुस्त तथा प्रभावकारी बनाउनसमेत उनले सरकारलाई आग्रह गरे । बेपत्ताको खोजी, विस्थापित नागरिकको दीर्घकालीन पुनस्र्थापना तथा पुनर्निर्माणका लागि सरकारलाई आवश्यक पर्ने सहयोग गर्न कांग्रेस तयार रहेको पौडेलले बताए ।
कांग्रेसले यसअघि पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सहयोगका लागि पार्टीका विभिन्न संरचनालाई परिचालन गर्दै आएको जनाएको छ। सभापति गगन थापाको नेतृत्वमा सरकारलाई सुझाव, सल्लाह तथा ध्यानाकर्षण गराउने काम हुँदै आएको र सभापति थापाले प्रभावित क्षेत्रको स्थलगत अवलोकनसमेत गरिसकेको कांग्रेसले जनाएको छ ।
ख