काँग्रेस महाधिवेशन : बुटवल नगर सभापतिमा भण्डारीको उम्मेदवारी घोषणा

1.3K

काँग्रेस महाधिवेशन : बुटवल नगर सभापतिमा भण्डारीको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस बुटवल नगर समितिका उपसभापति ज्योती भण्डारीले पार्टीको आसन्न १५औँ महाधिवेशनअन्तर्गत बुटवल नगर सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
शुक्रबार बुटवलमा पत्रकारहरूसँग भेटघाट गर्दै भण्डारीले लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभवका आधारमा नगर सभापतिमा उम्मेदवारी दिएको बताए । उनले पार्टीलाई सहमति, सहकार्य र एकताको आधारमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
२०४५ सालदेखि नेपाली काँग्रेसमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका भण्डारीले नेपाल विद्यार्थी संघमा विभिन्न जिम्मेवारी सम्हाल्नुका साथै तरुण दलमा समेत काम गरेका छन् । पार्टीको नगर सदस्य, सहसचिव, सचिव हुँदै हाल उपसभापतिको जिम्मेवारीमा रहेका भण्डारीले सामाजिक तथा राजनितिक न्यायकाे सिद्धान्तका आधारमा पनि नगर सभापतिमा आफ्नाे उम्मेद्वारी स्वाभाविक रहेकाे बताए ।
आन्तरिक निर्वाचनलाई प्रतिस्पर्धाभन्दा पनि संगठन सुदृढीकरणको अवसरका रूपमा लिनुपर्नेमा जोड दिँदै उनले सामाजिक तथा राजनीतिक न्यायको सिद्धान्तका आधारमा सहमति, सहकार्य र एकता कायम गर्नुपर्ने बताए ।
आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन पनि काँग्रेसभित्र बलियो एकता आवश्यक रहेको बताउँदै उनले भने-“पार्टीलाई थप मजबुत बनाउँदै आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबैको सहकार्य आवश्यक छ ।”
भण्डारीले बुटवल नगरका क्रियाशील सदस्य तथा पार्टीका प्रतिनिधिहरूलाई आफूलाई अत्यधिक मत दिएर विजयी गराउन आग्रह गरेका छन् । उनले आफू निर्वाचित भए नगर संगठनलाई थप चलायमान, एकताबद्ध र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे ।