कांग्रेस महाधिवेशन : तल्लो तहकाे अधिवेशन सार्ने तयारी

1.3K

कांग्रेस महाधिवेशन : तल्लो तहकाे अधिवेशन सार्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको मिति एक साता पर सार्ने तयारी गरिएको छ । यसबारे आइतबार बस्ने कांग्रेस कार्यसम्पादन समितिको बैठकमा छलफल हुने भएको छ ।
सभापति गगन थापाले आइतबार दिउँसो १ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति यथावत् राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका परिवर्तन गर्ने तयारी गरिएको हो ।
कांग्रेसले यसअघि आगामी बुधबार वडा अधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको थियो । तर बाढीपहिरो, सडक अवरोध, पार्टीभित्र भइरहेको आन्तरिक छलफल तथा तीज पर्वका कारण वडा अधिवेशन केही दिन पर सार्ने तयारी गरिएको कार्यसम्पादन समितिका एक सदस्यले जानकारी दिए ।
गत १० भदौमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहतमा पार्टीका नेता–कार्यकर्तालाई परिचालन गर्ने निर्णय कांग्रेसले गरेको थियो। बाढीपछि आएको वर्षाका कारण विभिन्न स्थानमा सडकमार्गसमेत अवरुद्ध भएकाले अधिवेशनका लागि आवतजावतमा समस्या हुने कांग्रेसको बुझाइ छ ।
यसैबीच महाधिवेशनलाई सहमतिका आधारमा अघि बढाउने विषयमा पार्टीभित्र आन्तरिक छलफलसमेत तीव्र बनेको छ । संस्थापन पक्षले पूर्वउपसभापति पूर्णबहादुर खड्का तथा नेता डा. शेखर कोइरालालगायतसँग संवाद गरिरहेको नेताहरूले बताएका छन् ।
वडा अधिवेशनको समय हरितालिका तीजसँग समेत जुधेकाले महिलाको प्रमुख पर्वलाई ध्यानमा राखेर पनि मिति सार्नुपर्ने अवस्था आएको कांग्रेस नेताहरूको भनाइ छ । यस वर्ष तीज २९ भदौमा परेको छ ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार २७ भदौमा गाउँ/नगर अधिवेशन र ३१ भदौमा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम थियो । वडा अधिवेशन सारिएसँगै यी अधिवेशनको मिति पनि प्रभावित हुने सम्भावना छ ।
कांग्रेसको अर्को पक्षले भने महाधिवेशन मंसिरमा गर्ने गरी मिति प्रस्ताव गरेको छ । यससँगै महाधिवेशनसम्बन्धी मुद्दा अदालतमा पुनरावलोकनका लागि विचाराधीन रहेकाले पार्टीभित्र महाधिवेशनको मितिलाई लिएर मतभेद कायमै छ ।
संस्थापन पक्ष भने १६ देखि १९ असोजसम्म तय भएको केन्द्रीय महाधिवेशन सोही मितिमा सम्पन्न गर्ने गरी अघि बढेको छ । संस्थापन पक्ष अदालतमा विचाराधीन मुद्दा फिर्ता लिएर सहमतिको वातावरण बनेमा मात्रै केन्द्रीय महाधिवेशनको मिति केही पर सार्ने विषयमा सोच्ने मनस्थितीमा देखिन्छ ।