बुटवल । पढ्ने रहर कसलाई पो हुँदैन होला र ? गरिवी या बिबिध कारणले मानिस पढ्बाट बन्चित हुनुपर्दा नरमाईलो लाग्नु स्वभाविकै हो । सानो उमेरमा पढ्ने रहर पुरा गर्न नपाएका महिलालाई बुढेसकालमै भएपनि साधना महिला बिद्यालय बुटवलले रहर पुरा गरिदिएको छ ।
उमेरमा पढ्ने र जागिर गर्ने या अन्य केही गर्ने महत्वाकांक्षा सबैका हुन सक्छन् । तर पढ्न नपाएर आफ्ना महत्वाकांक्षालाई त्यसै मार्न धेरै मानिसहरु विवस छन् । पढ्न पाईन, अक्षर चिन्न पाईन र सामान्य कुराकालागि पनि अक्षर बाधक बन्यो भन्नेहरुलाई साधना बिद्यालयले पुलको काम गरेको छ ।
बुटवलको पुरानो बसपार्क नजिकै रहेको साधना महिला बिद्यालयले बिद्यालय स्थापना भएदेखि हालसम्म २५ जना प्रवेशिका परीक्षा उत्तिर्ण भईसकेका छन् भने अहिले चलिरहेको प्रवेशिका परीक्षामा ५३ वर्षकी झनु राना सहित ११ जना सहभागि छन् ।
बुढेसकालमा भएपनि अक्षर चिन्न पाएकोमा सो बिद्यालयकी बिद्यार्थी ६८ वर्षीय तारादेवी आचार्यले खुशी व्यक्त गर्नुभयो । पहिले बाबु आमाले कर गर्दा पनि पढ्न नमानेर बसेकी बिष्णुमाया क्षेत्रीलाई जीवनका पाईला पाईलामा अक्षर अभावले निकै पिरोल्यो । सानोमा बाबु आमाले पढ्नभन्दा नमानेकोमा अहिले निकै पछुताएकी क्षेत्री अक्षर बिना जीवन अन्धकार देखेर अहिले बुढेसकालमा अक्षर चिन्दै हुनुहुन्छ ।
महिलालाई अध्यापन गराउने उद्देश्यले सामुदायिक स्तरबाट २०६८ सालमा स्थापना गरिएको सो बिद्यालयमा ९ वर्षदेखि ६८ वर्ष सम्मका एक सय ५० जना बिद्यार्थी अध्ययनरत रहेको बिद्यालयकी प्रधानाध्यापक सुमन पन्थीले बताउनु भयो ।
काठमाण्डौ बाहिर सामुदायिक स्तरबाट सञ्चालन भएको महिला बिद्यालय यो सम्भवत पहिलो हो । महिलाको मात्रै सहकार्य रहेको बिद्यालयमा पछिल्लो समयमा समावेशी बनाउनकैलागि शिक्षक कर्मचारी समावेशी बनाउन थालिएको बिद्यालय व्यबस्थापन समितिकी अध्यक्ष साबित्रा अर्याल बताउनु हुन्छ । ११ जना शिक्षक कर्मचारी रहेको सो बिद्यालयमा एक जना गणित बिषयका शिक्षक पुरुष हुनु हुन्छ भने बाँकी १० जना महिला रहेको बिद्यालयले जनाएको छ ।
बिद्यालय सञ्चालन गरेपनि भौतिक पूर्वाधार अभावमा ऋण धन गरेर करिव ६५ लाखको लागतमा भवन निर्माण गरेपनि अझै प्रयाप्त भने हुन नसकेको अध्यक्ष अर्याल बताउनु हुन्छ । पूर्वाधार अभावकै कारण कक्षा ६ र ८ सञ्चालन गर्न नसकिएको उहाँले बताउनु भयो ।
बिद्यालयको आर्थिक अवस्था सुधारकै लागि संस्थागत सदस्यता वितरण खुला राखिएको छ । एक जनाले बिद्यालयको संस्थागत सदस्यता लिनकालागि ३० हजार रुपैया तिर्नुपर्ने प्रावधान बनाईएको छ । यसका अलवा बिद्यालय सुधारकालागि सरकारसंग पहल गरेपनि खासै सहयोग प्राप्त गर्न नसकिएको अध्यक्ष अर्यालले बताउनु भयो ।