बुटवल, जेठ । टेरिया मगर फाउण्डेसन नेपालले कलाकारिता र सामाजिक सेवाका क्षेत्रमा काम गर्ने भएको छ । भारतको जीटीभीले आयोजना गरेको डान्स इण्डिया डान्स (डिआईडी) लिटिल मास्टर्स–२०१४ मा एकलाख बढी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेपछि रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरको नाममा फाउण्डेसन गठन भएको हो । टेरियाको चाहना अनुसार कला र सामाजिक क्षेत्रमा योगदान गर्दै अघि बढ्ने उद्देश्यले फाउण्डेसन दर्ता गरिएको संस्थाका अध्यक्ष कृष्णबहादुर फौजामगरले सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बताउनु भयो ।
फाउण्डेसनले टेरिया मगरको कलाकारिताको यात्रालाई संस्थागत ढंगले व्यवस्थित गर्ने, टेरियाको शिक्षा, स्वास्थ्य र क्षमता विकासका कामहरु गर्ने, गरीब, अनाथ र अपांग बालबालिकालाई शिक्षा, स्वास्थ्यमा पहुंचका लागि सक्दो योगदान गर्ने, समाजमा पछि परेका समुदायका असहाय बालबालिका कला क्षेत्रमा आउन चाहेमा उनीहरुलाई सहयोग र प्रोत्साहन गर्ने र फाउण्डेसनसंग समान लक्ष्य, उद्देश्य र चाहना भएका स्थानीय,राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थाहरुसंग समन्वय र सहकार्य गर्ने लगायतका उद्देश्यहरु राखेको छ ।
फाउण्डेसनमा समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने र कला क्षेत्रमा रुचि राख्ने व्यक्तित्वहरु रहेका छन् ।
फाउण्डेसनले लगत्तै साधारण सदस्य र आजीवन सदस्य विस्तार गर्न लागेको जानकारी गराएको छ । फाउण्डेसनका लागि टेरिया मगरले शुरुमा रु. एकलाख रुपैयां उपलब्ध गराउने र हरेक कार्यक्रमबाट प्राप्त हुने आम्दानीको ५ प्रतिशत दिने भएकी छन् ।
सामाजिक कार्य अन्तर्गत फाउण्डेसनले रुद्रपुरको एक सरकारी विद्यालयका दुईजना गरीब तथा जेहेन्दार विद्यार्थीलाई १८ सय रुपैयांका दरले तीनहजार ६ सय रुपैयां छात्रवृत्ति स्वरुप प्रदान गरिएको अध्यक्ष फौजाले बताउनु भयो । टेरियाले गत वर्ष नेपालमा गएको विनाशकारी महाभूकम्पबाट पीडित धादिङका भूकम्पपीडित विद्यार्थीलाई रु. एकलाख रुपैयां नगद प्रदान गरेकी थिईन ।