‘आत्मरक्षा गर्ने सीपले मलाई निडर बनायो’

393

‘आत्मरक्षा गर्ने सीपले मलाई निडर बनायो’

aatmaraksha

अन्जली रम्तेल/

काठमाडौँ, १५ असार । ‘नाइट ड्युटी हुने भएकाले सधैँ रातको १२ बजेभन्दा अघि दोहोरीबाट निस्कन पाइँदैनथ्यो । एक्लै निस्कन डर लाग्ने भएकाले हामी सधैँ दुईतीन जना केटीको समूह बनाएर मात्र घर जान निस्कन्थ्यौँ ।”

विगतलाई सम्झँदै सिर्जना पुनले भनिन् – “एक त राति हिँड्नुपर्ने अर्को मनोरञ्जन क्षेत्रमा काम गर्ने भएकाले हामीलाई नराम्रो दृष्टिले हेर्ने त भइहाले । हामीले आफूलाई कार्यस्थलमा नै जोगाउनुपथ्र्यो बाहिर सडकको त के कुरा रु”

मनोरञ्जन क्षेत्रमा कार्यरत महिला यस्तै जोखिमबाट बढी गुज्रिनुपर्ने भएकाले उनीहरुलाई आत्मरक्षासम्बन्धी तालिमको संयोजन गर्दै आएको संस्था महिलाका लागि महिला मञ्च नामक संस्थाका प्रमुखसमेत रहेकी सिर्जना द्वन्द्वकालमा सुरक्षा र रोजगारीको सिलसिलामा काठमाडौँ आइपुगेकी थिइन् ।

आत्मरक्षासम्बन्धी तालिम लिनुअघि र पछिको अनुभव सुनाउँदै उनले तालिमले आफूलाई निडर बनाएको बताइन् । “पहिले साथीसँगै रातिमा निस्कँदा पनि कसैले आएर समात्ने पो हो कि, कसैले हमला पो गर्ने हो कि भन्ने लागिरहन्थ्यो”, उनले भनिन् – “अहिले म एक्लै ठमेलको बाटो हिँड्छु । कसैले मलाई केही गरिहाल्यो भने पनि मैले यसरी प्रतिकार गर्छु भन्ने मनमा आइहाल्छ ।”

दाङकी सिर्जनाले सुरुमा क्याबिन रेस्टुरेन्टमा काम गर्न थालिन् तर त्यहाँ समयमा पैसा नदिने समस्या भएपछि दोहोरीतिर लागिन् । दोहोरीबाट घरका लागि निस्कँदा सधैँ १२ बजिहाल्थ्यो । कोही साथी भएको समयमा समस्या महसुस नभए पनि एक्लै भएका बेला भने उनलाई डरले समातिहाल्थ्यो । “अब भने त्यस्तो समस्या छैन” – उनले निर्धक्क भएर भनिन् ।

दश दिनको आत्मरक्षा तालिमपछि आफूमा आत्मविश्वासको महसुस गर्ने सुनिता आफूमाथि भन्दा पनि अरुमाथि हिंसा भएको देख्ने बित्तिकै प्रतिकारका लागि उत्रिहाल्छिन् । उनले सुनाइन् – “केही समयअघि गोङ्गबुमा एक जना महिलालाई जाँड खाएको पुरुषले हातमा समातेर तान्दै थियो । म र अर्को एक जना साथी सँगै थियौँ । वरपर मानिस जम्मा भई रमिते भएर हेरिरहेका थिए । हामीले गएर किन यस्तो गरेको रु को हौ रु भनेर सोध्यौँ तर उसले केही नभनी ती महिलालाई मसँग हिँड् हिँड् मात्र भनिरहेको थियो । महिला भने केही गर्न नसकी रोइरहेकी थिइन् ।”

सुरुमा आफूहरुले सम्झाउन खोजेको भएपनि ती पुरुष सम्झने मनस्थितिमा नभएपछि भीडका बीचमा नै पिटेर ती महिलालाई आफूसँगै ल्याएको उनले बताइन् । तालिमअघि यस्ता घटना देख्दा आफूले केही गर्न नसक्ने भएपनि अहिले यस्ता घटनालाई सम्झाइबुझाई गर्दा नमाने कुटपिट नै गरेर भए पनि समाधान गरेको उनले सुनाइन् ।

आत्मरक्षा तालिम लिएकी मनोरञ्जन क्षेत्रमा कार्यरत अर्की महिला कुमारीले पनि आफूमाथि दुव्र्यवहार गर्न खोज्नेलाई प्रतिकार गर्न थालेकी छिन् । “पहिले पहिले ठूलो स्वरले बोल्नसमेत डर लाग्थ्यो”, उनले सुनाइन् – “ग्राहक नै पनि कहिलेकाहीँ अलि दुव्र्यवहार गर्न खोज्ने खालका हुन्छन् । उनीहरुसँग कसरी व्यवहार गर्ने भन्ने चिन्ता लाग्थ्यो । कराउँ भने ग्राहक र मालिक रिसाउला भन्ने चिन्ता हुन्थ्यो ।”

“अहिले त कसैको पनि डर लाग्दैन, तालिममा हामीलाई पहिले कुरामार्फत नै दुव्र्यवहारको प्रतिकार गर्न सिकाइन्छ, त्यतिले नमाने मात्र हो कुटपिटमा उत्रने त । तालिमपछि भने कामबाट निकाले नि अन्तै गरौँला भन्ने भावना आउन थालेको छ” – उनले हाँस्दै भनिन् ।

“मानिसको सोचाइमा आत्मरक्षा तालिम भन्ने बित्तिकै पिटेर ठीक ठाउँमा ल्याउने होला भन्ने सोच छ”, विभिन्न क्षेत्रका महिलालाई आत्मरक्षाको तालिम प्रदान गर्दै आएको संस्था परित्रान रिस्क म्यानेजमेन्ट सोलुसनका निर्देशक विक्रान्तराज पाण्डेले भने –“पहिले हामी संवादमार्फत नै समस्याको समाधान खोज्छौँ । कोही महिला दुव्र्यवहारमा परिहालेमा पीडकसँग राम्ररी कुरा गरेर छुट्कारा पाउन सकिन्छ । त्यति गर्दा पनि मानेन भने आफूभन्दा निकै बलवान नै किन नहोस् उसँग कसरी भिड्ने र आफूलाई जोगाउने भन्ने सिकाउँछौँ ।”

दश दिनको तालिममा महिलालाई शारीरिक मात्र नभई मानसिक रुपमा पनि आत्मरक्षाका लागि तयार गरिन्छ । “महिलामाथि हिंसा भइसकेपछि विभिन्न उपचारका विधि अपनाइन्छ यो भने घटना हुनुपूर्व कसरी आफूलाई जोगाउने भनेर सिकाउने हो” – उनले भने ।

सन् २०१३ देखि संस्थाले बैंकिङ क्षेत्र, अपाङ्गता भएका, मनोरञ्जन तथा अनौपचारिक क्षेत्रमा कार्यरत सयौँ महिलालाई आत्मरक्षा तालिम प्रदान गर्दै आएको छ । रासस