सरकार मनपरी ढङ्गले अघि बढ्योः देउवा, माओवादीले सहमतिको सरकारको पहल गर्ने

1.3K

सरकार मनपरी ढङ्गले अघि बढ्योः देउवा, माओवादीले सहमतिको सरकारको पहल गर्ने

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले विपक्षी दलसँग कुनै सल्लाह नगरेको गुनासो गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९३औँ जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकको भवन शिलान्यासपछि आज बनेपामा आयोजित कार्यक्रममा उहाँले सरकार मनपरी ढङ्गले अघि बढेको आरोप लगाउनुभयो ।

सभापति देउवाले संविधानको कार्यान्वयन र भूकम्पपीडितलाई बसोबासको व्यवस्था गर्ने चुनौती काँग्रेसको काँधमा आएको उल्लेख गर्दै हिउँद र वर्षासमेत सकिन लाग्दा भूकम्पपीडितको पक्षमा सरकारले कुनै काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो – “भूकम्पपीडित जुनसुकै पार्टीका हुन् तर कसैको नाम छुट्नुहुँदैन र भूकम्पपीडितमाथि जुन जिल्लामा अन्याय हुन्छ त्यस्ता जिल्लामा जुलुस र विरोध पनि गर्न जरुरी छ ।

नेता देउवाले नेकपा (एमाले)ले नै स्थानीय चुनाव गर्न नचाहेको आरोप लगाउँदै राज्य पुनःसंरचना आयोगको रिपोर्ट आगामी साउन, भदौमा नै आउनुपर्ने बताउनुभयो ।

उहाँले प्रान्तीय चुनावलगायतका विभिन्न चुनावका विषयमा समेत सरकारले कुनै तयारी नगरेको भन्दै संविधान कार्यान्वयन नभए फेरि मुलुक अप्ठेरोमा पर्छ भन्नुभयो ।

नेपाली काँग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले प्रधानमन्त्री केपी ओलीलाई भूकम्पपीडित जस्तै एक दिन पालमा बसेर अनुभव गर्न आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अस्थिर राजनीति भए पनि अर्थतन्त्र टिकेको भन्दै नेपाली काँग्रेसको दर्शनमा नै कम्युनिस्ट पार्टीहरु अघि बढेको जिकिर गर्नुभयो ।

सो कार्यक्रममा सांसदद्वय कञ्चनचन्द्र वादे, तीर्थ लामा, पूर्व सांसद शिवप्रसाद हुमागार्इं, नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, उपाध्यक्ष अच्युत पौडेललगायतले सरकारको आलोचना गर्दै भूकम्पपीडितलाई शीघ्र राहत उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

सात आना तीन पैसा एक दाम जग्गामा रु तीन करोडको लागतमा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकले आफ्नो भवन निर्माण गर्न लागेको हो ।

माओवादीले सहमतिको सरकारको पहल गर्ने

मधेसवादी दल, आदिवासी जनजाति समूहलाई वार्तामा ल्याएर राष्ट्रिय समस्याको समाधान गर्ने लक्ष्यसहित नेकपा(माओवादी केन्द्र)ले राष्ट्रिय सहमतिको सरकारको पहल गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म मुलुकका विद्यमान समस्या समाधान हुन नसक्ने र त्यसमा प्रमुख राजनीतिक दल एकै ठाउँमा आउनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रिय सहमतिको सरकारका लागि नेपाली काँग्रेस, नेकपा (एमाले)लगायतका दलले विशेष योगदान गर्नुपर्ने निष्कर्ष निकाल्दै बैठकले त्यसको पहल माओवादीले गर्ने निष्कर्षसमेत निकालेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्न बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएको छ । गत वैशाखमा प्रमुख सत्तारुढ दल नेकपा(एमाले) र माओवादी केन्द्रका बीच नौ बुँदे सहमति भएको थियो । तर उक्त सहमति कार्यान्वयन नभएको भन्दै माओवादी केन्द्रले असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

युद्धकालीन मुद्दा, शान्ति प्रक्रियासँग जोडिएका विषयमा सरकारको नेतृत्वकर्ता दलले ध्यान नदिएको र पूर्व सहमति कार्यान्वयनमा मन नलगाएको भन्दै माओवादीका नेताले सार्वजनिक रुपमा नै सरकारको आलोचना गर्दै आउनुभएको छ ।

बैठकले आफ्नो एजेन्डा मिल्ने दलसँग मिलेर वा सबै दलको सहमतिमा अगाडि बढ्ने निष्कर्षसमेत निकालेको बताइएको छ । बैठकमा सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै सरकारमा सहभागी मन्त्रीको समेत आलोचना भएको थियो ।

केन्द्रीय समिति १९९ प्रस्ताव

बैठकमा नेता वर्षमान पुन नेतृत्वको कार्यदलले पेस गरेको सङ्गठनात्मक कार्यविधि पारित गरेको छ । उक्त कार्यविधिअनुसार माओवादी केन्द्रको केन्द्रीय समिति १९९ सदस्य हुने प्रस्ताव गरिएको छ ।

माओवादी आयोजक समितिका लागि भन्दै माओवादीले एक हजार ५०० आयोजक समिति बनाएको छ । सोसम्बन्धी आवश्यक निर्णय भने यही असार २१ गते बोलाइएको पोलिटब्युरोका बैठकले गर्ने प्रवक्ता भुसालले जानकारी दिनुभयो ।