नवलपरासीको ६५ प्रतिसत खेतमा रोपाई

497

नवलपरासीको ६५ प्रतिसत खेतमा रोपाई

ध्रुवशरण ढुंगाना
नवलपरासी, असार । असारको तेस्रो हप्ताको अन्तिममा आईपुग्दा नवलपरासीको ६५ प्रतिसत खेतमा रोपाई सकिएको छ ।
जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका अनुसार दाउन्ने पश्चिम दक्षिणका गाउँ बिकास समिति त्रिवेणीसुस्तादेखि सुक्रौली तथा हकुई सम्मका अधिकांश खेतियोग्य जमिनमा धान रोपाईको काम सकिएको छ । त्यस्तै पूर्व तथा पहाडी भेगका बुलिङ्टारदेखि हुप्सेकोट गाउँ बिकास समिति र समथर भूभाग नवलपुरको आदाआदी क्षेत्रमा रोपाईको काम धमाधम भईरहेको छ ।
नवलपरासीको कुल ७९ हजार १ सय ४९ हेक्टर खेतीयोग्य जमिन मध्ये हालसम्म ६५ प्रतिसत खेलमा रोपाई भएको जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका योजना अधिकृत श्रीकान्त घिमिरेले बताउनु भयो ।
उहाँका अनुसार नवलपरासीको कुल खेतीयोग्य जमिनमध्ये ७० हजार १ सय ४९ हेक्टर जमिनमा मात्रै खेती गरिन्छ । कुल खेतीयोग्य जमिनमध्ये ९ हजार हेक्टर जमिन बाँझो रहेको छ ।
सिचाई असुविधाका कारण खेतीयोग्य जमिन बाँझो राख्न किसान बाध्य भएका हुन् । कुल खेतीयोग्य जमिन मध्ये नवलपरासीमा ४४ हजार ७ सय ५० हेक्टरमा धान खेती गरिन्छ । जसमध्ये २२ हजार ८ सय ७८ हेक्टर जमिनमा मात्रै बाह्रैमास सिचाई सुविधा छ ।
त्यसबाहेक २५ हजार ७ सय ७५ हेक्टर जमिनमा रोपाई गर्न तथा सिचाईका लागि पनि आकाशको भर पर्नुपर्ने किसानलाई बाध्यता छ ।
यस बर्ष भने समयमै बर्षा भएकोले किसानलाई धान बाली लगाउन सहज भएको हो । जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत घिमिरेका अनुसार गत बर्ष यो समयसम्म आईपुग्दा ३५ प्रतिशत जमिनमा मात्रै रोपाई भएको थियो । ‘यो बर्ष समयमै वर्षा भएकोले ६५ प्रतिसत खेतमा रोपाई सकिएको हो । नियमित रुपमा वर्षा भएमा धान उत्पादन पनि बढ्ने सहजै अनुमान गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो ।