आतङ्ककारी हमलाको विश्वव्यापी निन्दा

288

आतङ्ककारी हमलाको विश्वव्यापी निन्दा

फ्रान्स, ३१ असार । फ्रान्सको नाइस सरहमा अवस्थित एक रिसोर्टमा शुक्रबार बिहान भएको बन्दुक आक्रमणको विश्वका नेताहरुले निन्दा गर्नुभएको छ ।

सो हमलामा परी ८४ जनाको ज्यान गएको छ । बिहान भएको सो हमलामा परी घटनास्थलमै ८० जनाको ज्यान गएको थियो । मारिने व्यक्तिको सङ्ख्या ८४ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
सो हत्याको विश्वव्यापी रुपमा निन्दा गरिएको छ । यस घटनाको विरोधगर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतङ्कवादले कहिल्यै पनि जित्न नसक्ने धारणा राख्नुभएको छ ।

उहाँले मारिएका व्यक्तिप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको जनाइएको छ ।

त्यस्तै क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले पनि सो घटनाको निन्दा गर्नुभएको छ । उहाँले दोषीलाई कडा कारबाहीको माग पनि गर्नुभएको छ ।

एकजना बन्दुकधारीले महोत्सवमा रमाइरहेको स्थानमा ट्रक लगेर ट्रकभित्रैबाट बन्दुकले हमला गरेको थियो । उसको पहिचान अहिले सम्म हुन सकिरहेको छैन ।
त्यस्तै टर्कीका राष्ट्रपति रिसेप एर्डाेग्यानले पनि सो घटनाप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले यसमा संलग्नलाई जतिसक्दो चाँडै पत्ता लगाएर कारबाही गर्न माग गर्नुभयो ।

उक्त घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ प्रधानमन्त्री लि खछ्याङलगायत विश्वका नेताहरुले दुःख व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।
सो आतङ्ककारी हमलाको अनुसन्धान सुरु भएको छ । तर अहिलेसम्म केही नयाँ तथ्य भने पत्ता लाइसकेको छैन । रासस÷एएफपी