एकीकृत सम्पत्ति कर लागु

824

एकीकृत सम्पत्ति कर लागु

परासी, ५ साउन । आर्थिक वर्ष २०७३÷७४ का लागि कावासोती र गैँडाकोट नगरपालिकाले एकीकृत सम्पत्ति कर लागु गरेको छ ।

सर्वदलीय बैठकबाट एकीकृत सम्पत्तिकर व्यवस्थापन निर्देशिका तथा सञ्चालन कार्यविधि २०७३ पारित गरेपछि उक्त कर लागु गरिएको हो । एकीकृत सम्पत्ति कर लागु भएपछि यसअघि लिँदै आएको घरजग्गा र भूमिकर स्वतः विस्थापित भएका छन् ।

यस वर्ष गैँडाकोट क्षेत्रमा घरजग्गा भएका सबैलाई एकीकृत सम्पत्ति करको दायरामा ल्याइने नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले बताउनुभयो । राजनीतक दलका प्रतिनिधि, सरोकारवाला सङ्घ संस्था, व्यवसायी, वडा तथा सम्बन्धित क्षेत्रमा छलफल गरी सम्पत्ति कर लगाउने निर्णय गरिएको हो ।

घरमा स्थानीय विकास मन्त्रालयले तोकेअनुसार र जग्गामा जिल्ला मालपोत कार्यालयले तय गरेको न्यूनतम मूल्यको ५० प्रतिशतलाई आधार मानेर एकीकृत कर सङ्कलन गरिने भएको छ ।