ड्रोन आक्रमणमा आइएस आतङ्ककारी मारिए

425

ड्रोन आक्रमणमा आइएस आतङ्ककारी मारिए

अफगानिस्तान, ५ साउन । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा गएराति रातभरी भएको अमेरिकी ड्रोन आक्रमणमा आइएसका पाँच आतङ्ककारी मारिएका छन् । प्रान्तीय सरकारले बुधबार सो जानकारी दिएको जलालावादबाट प्राप्त समाचारमा जनाइएको छ ।

गएराति आचिन जिल्लाको बन्दाआर इलाकामा लुकेर बसेका आतङ्ककारीलाई लक्ष्यगरी अन्तर्राष्ट्रिय बलले रातभरी गरेको चालकरहित विमान आक्रमणमा कम्तीमा पाँच आइएस आतङ्ककारी मारिएका जानकारी दिइएको छ । प्रान्तीय सरकारद्धारा जारी विज्ञप्तिमा जनाइएअनुसार सो आक्रमणमा परी अरु पनि कैयौँ लडाकू घाइते भएका छन् ।

हवाई आक्रमणमा आतङ्ककारीहरुले भण्डारण गरेर राखेका कैयौँ हातहतिया समेत नष्ट भएको जनाइएको छ । यस हवाई आक्रमणबाट सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।

हालका हप्ताहरुमा अफगानिस्तानमा अफगान सुरक्षाबलले आतङ्ककारीविरुद्ध गरिने कारबाहीमा बृद्धि गरेपछि हिंसामा कमी आएको बताइएको छ । त्यसैगरी देशभर नेटोआवद्ध सेनाले पनि हवाई आक्रमण जारी राखेका छन् । पाकिस्तानको सीमा क्षेत्रमा भएको आचिन जिल्लामा आइएस लडाकू समूहको बलियो प्रभाव रहेको क्षेत्रको रुपमा रहेको बताइन्छ ।

अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर पूर्वमा आचिन जिल्ला पर्दछ । आतङ्ककारी समूहले भने यस हवाई आक्रमणको कुनै टिप्पणी गरेका छैनन् । रासस÷सिन्ह्वा