अम्लाबासमा १७ वर्षपछि सुकेको मुहानमा पानी

1.3K

अम्लाबासमा १७ वर्षपछि सुकेको मुहानमा पानी

कृष्ण दर्नाल/

पाल्पा, ६ साउन । वनजङ्गल हराभरा भएपछि एकपटक सुकेको मुहानमा फेरि पानीको मुल फुटेको छ ।

छहरा गाविस–५ अम्लाबास बजारमुनिको जङ्गल नाङ्गो डाँडामा बदलिएपछि २०४० साल देखि ०५६ सालसम्म वर्षातको समयमा समेत पानीको मूल फुटेको थिएन ।

वनजङ्गल हराभरा भएपछि सुकेको मुहानमा २०५७ सालमा पानीको मुल फुटेपछि अहिलेसम्म पानी प्रशस्त हुन थालेपछि स्थानीय खुसी छन् । स्थानीयले एकपटक सुकेको पानीको मुहान फेरी फुटेपछि यसलाई अनौठो रुपमा लिएका छन् ।

समुदायले वनजङ्गलको संरक्षण गरेपछि १७ वर्षसम्म सुकेको पानीको मुहानमा प्रशस्त पानी देखिन थालेको हो । यहाँको वनजङ्गल २०४० सालसम्म नाङ्गो डाँडा पाखा मात्र बनेपछि पानीका मुहानहरु सुकेको स्थानीयको भनाई छ । पानीको मुहान सुकेपछि झन्डै २० घरपरिवारले अन्यत्रबाट पानी ल्याउन बाध्य भएको स्थानीय बासिन्दा तथा अम्लाबास लेकसल्लेरी सामुदायिक वनका अध्यक्ष माधव घिमिरेले बताउनुभयो ।

विसं २०४५ मा अम्लाबास लेकसल्लेरी सामुदायिक वनले नाङ्गो डाँडामा वृक्षारोपण गरेपछि वन हराभरा भयो । वनमा रहेका साना विरुवासमेत हुर्केपछि १७ वर्षपछि २० परिवारलाई भर्न पुग्ने पानी आउने गरेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

असार साउनमा मात्र होइन, चैत, वैशाख, जेठमा समेत पानी प्रशस्त रहेको जिल्ला वन कार्यालय पाल्पाका प्रमुख दधिलाल कँडेलले बताउनुभयो । वनको अनुगमनको क्रममा यो पानीको मुहान हेरियो, जेठ महिनामा पनि पानी प्रशस्त देखिएको हो, उहाँले बताउनुभयो ।

अम्लाबास लेकसल्लेरी सामुदायिक वनले नाङ्गो डाँडामा वृक्षारोपण कार्यलाई अभियानका रुपमा सञ्चालन गरेपछि वन क्षेत्र हरियाली बनेको हो । वनको जग्गा कतैपनि खाली, नाङ्गोडाँडा छैनन्, विरुवा रोपिएको छ ।

पानीको मुहानको वरिपरि लाँकुरी, चिउरी, मेहाललगायतका विरुवाहरु प्रशस्तै हुर्किएपछि सुकेको मुल फेरी फुटेको घिमिरेको दावी छ । वन संरक्षणले नै एकपटक सुकेको मुहानमा फेरी पानी बग्न थालेको उहाँ बताउनुहुन्छ ।

सत्र वर्षपछि सुकेको पानीको मुहानमा पानी देखिएको स्थानीय बासिन्दा भुवन रायमाझीले बताउनुभयो । वनलाई समुदायमा हस्तान्तरण गरेपछि पाल्पाका अधिकांश जङ्गल संरक्षण हुँदै आएको जिल्ला वन कार्यालयले जनाएको छ ।

वनजङ्गल, जैविक विविधिताको संरक्षण, वन्यजन्तुको संरक्षणको जिम्मा स्थानीयले पाएपछि यहाँका वनजङ्गल संरक्षणमा स्थानीयले बढी चासो देखाएका छन् ।

यो वन गत आवमा नेपालकै सवैभन्दा ठूलो वन पुरस्कार गणेशमानसिंह राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएको थियो । यस वनले पछिल्ला वर्षहरुमा जडिबुटी खेती पनि गर्दै आएको छ । रासस