अर्गानिक प्रमाणीकरणबाट वञ्चित

499

अर्गानिक प्रमाणीकरणबाट वञ्चित

chiya

इलाम, २७ साउन । घरेलु उद्योग खोलेर प्रशोधन गर्दै आएका किसानले पहुँच नपुगेका कारण चियाको अर्गानिक (जैविक) प्रमाणीकरण गर्न नसकेको गुनासो गरेका छन् ।

ठूला उद्योगले राम्रो मूल्य नदिएपछि अर्गानिक प्रमाणीकरण गर्न नसकेपछि साना किसानले लघु उद्योग स्थापना गरेर प्रशोधन थालेका छन् ।

घरेलु उद्योग चलाउने किसानले जैविक अर्थोडक्स चिया तयार गरे पनि अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सकेका छैनन् । अन्तर्राष्ट्रिय बजारमा जैविक चियाको माग राम्रो छ तर विश्वासनीय निकायबाट प्रमाणित हुनुपर्ने रहेछ, साँखेजुङस्थित पाथीभरा चिया प्रशोधन उद्योगका सञ्चालक मोती दाहालले भन्नुभयो ।

नेपालमा जैविक चियाको प्रमाणीकरण गरेर प्रमाणपत्र दिने निकाय छैन । नेपालभित्र चियामा रासायनिक पदार्थको मात्रा जाँच्ने प्रयोगशाला पनि छैन । विदेशी निकायसँग प्रमाणीकरणका लागि सम्पर्क र सम्बन्ध विस्तार गर्न पनि पहुँच नपुग्ने किसानले बताएका छन् ।

जर्मन टि काउन्सिल र युरोपियन टि कमिटीले सन् २००५ मा खाद्य पदार्थको रहल अवशेषको नयाँ मापदण्ड तयार गरेपछि रासायनिक पदार्थ मिसिएको चिया तेस्रो मुलुकमा निकासी हुन छाडेको छ । त्यसअघि काउन्सिल र कमिटीमार्फत नै नेपाली अर्थोडक्स चिया युरोप र अमेरिका निर्यात हुँदै आएको थियो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका पूर्व सदस्य तथा कन्यामका चिया किसान काजीमान कागतेले जैविक चियाको प्रमाणीकरण गराउन किसान एक्लैको प्रयास सम्भव नहुने बताउनुभयो । “प्रमाणीकरणका लागि धेरै प्रक्रिया पूरा गर्नुपर्छ, यसका लागि कम्तीमा पनि रु पाँच लाख लाग्छ, यो किसानको पहुँचभन्दा बाहिर छ” उहाँले भन्नुभयो ।

घरेलु उद्योगले तयार गरेको अर्गानिक अर्थोडक्स चिया स्थानीय बजारमा लोकप्रिय छ । तयारी चिया स्थानीय बजारमा गुणस्तर अनुसार प्रतिकिलो रु १०० देखि एक हजारसम्ममा बिक्री भइरहेको पाइएको छ । तर यो चियालाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सक्दा अझै राम्रो मूल्य पाउन सकिने तीनजुरे चिया कारखानाका होम तिम्सिनाले बताउनुभयो ।

किसानले अन्तर्राष्ट्रिय बजारलाई नै लक्षित गरेर अर्गानिक चिया तयार गरिरहेका छन् । नेपाली बजारमा सस्तो सिटिसी चिया खपत बढी हुन्छ । सिटिसीकै मूल्यमा अर्थोडक्स चिया बिक्री गर्न नसकिने भएकाले अन्तर्राष्ट्रिय बजारमा जानुको विकल्प नभएको दाहाल बताउनुहुन्छ ।

ठूला उद्योगले हरियो चियापत्तिको मूल्य कम दिन थालेपछि यहाँका साँखेजुङ, शान्तिडाँडा, फाकफोक, कन्याम, जीतपुरलगायतका गाविसका साना किसानले सहकारी र निजी लगानीमा घरेलु उद्योग स्थापना गरेका छन् । यस्ता उद्योगमा किसानले रु पाँच लाखदेखि ३० लाखसम्म लगानी गरेका छन् ।

चियाको अग्र्यानिक प्रमाणीकरणको लागि सरकारले नै प्रक्रिया अघि बढाउनुपर्ने किसानको माग छ । किसानको एक्लो प्रयासले मात्र प्रमाणीकरण सम्भव नहुने भएकाले सरकारी तवरबाट नै प्रमाणीकरणका लागि पहल आवश्यक रहेको किसानको भनाइ छ ।

साँखेजुङस्थित हिमालयन साङ्ग्रिला, फिक्कलको सुन्दरपानीस्थित गोर्खा टि स्टेटलगायतका कारखानामा आबद्ध एक हजार जनाभन्दा बढी किसानको चिया अर्गानिक प्रमाणीकरण भइसकेको छ ।

यी कारखानामा उत्पादित तयारी चिया जापान, जर्मन, अमेरिकालगायत विभिन्न मुलुकमा महँगो मूल्यमा बिक्री हुँदै आएको छ । चिया किन्न विदेशी व्यापारी प्रत्येक वर्ष इलामका अर्गानिक चिया कारखानामा डुल्ने गरेका छन् । रासस