महिलाको हत्या

1.3K

महिलाको हत्या

hatya

बुटवल, २८ साउन । बुटवलमा बिहीबार राति एक महिलाको हत्या भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १३ कालिकानगरमा भाडामा बस्दै आएकी अन्दाजी ४० वर्षिया कमला न्यौपाने घाँटीमा पासो लगाएर हत्या भएको अवस्थामा आफ्नै कोठामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं. ८ गोरकट्टा घर भई लामो समयदेखि कालिकानगरमा परिवार सहित घर भाडामा लिएर बस्दै आएकी कमलाको विद्युतीय तारले घाँटी कसेर हत्या गरी उनी सुत्ने पलङ भित्र राखेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
विगत केही वर्षयता विभिन्न समूहमा ढिकुटी खेलाउँदै आएकी कमला विहीबार पनि दिनभर बजारमा ढिकुटी किस्ता उठाउँदै हिंडेको र सांझ ६ बजेतिर कोठामा फर्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

बुटवलमै जुत्तापसल सञ्चालन गर्दै आएका कमलाको श्रीमान नित्यानन्द न्यौपाने बिहीबार विहानै सामान खरिद गर्न काठमाडौं गएका थिए । कमला कोठामा एक्लै रहेको भन्दै राति साथी दिन गएका उनका दाजुका छोरा रेबिकले राति ८ बजेतिर कोठामा कतै नदेखेपछि खोज्दै जाँदा पलङभित्र कमलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तीन तल्ले घरको माथिल्लो तल्लामा पुरै कोठा भाडामा लिएर बस्दै आएकी कमलाको कोठाको ढोकामा चाबी लगाएको पाईएपछि फोन गर्दा मोबाईल नउठाएको र खुल्ला रहेको झ्यालबाट भित्र पसी खोज्दै जाँदा खुट्टा पलङ बाहिर निस्किएको देखेपछि प्रहरीलाई खबर गरेको रेबिकले बताए ।

हत्याको खबर पाएपछि तत्काल घटनास्थल पुगेका रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धि बहादुर गुरुङले हत्यापछि कमला लगाएका औंठी, बाला, कानको टप, सिक्री लगायत सुनका केही गरगहना लुटेर लगेको जनाएका छन् । तर चाबी नलगाएको अवस्थामा रहे पनि दराजभित्रका धनमाल भने सुरक्षित रहेकोले हत्या चोरी तथा लुटपाट गर्ने अभिप्रायले नभई अन्य कुनै कारणले हुन सक्ने उनले बताए ।

कमलाको एक छोरा र एक छोरी अध्ययनको लागि काठमाडौं बस्दै आएका छन् । कमलाको शव पोष्टमार्टको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको र घटनाको थप अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए ।