थ्रीस्टारको विजयी सुरुआत

332

थ्रीस्टारको विजयी सुरुआत

three star

काठमाडौँ, ५ भदौ । एएफसी कप फुटबल छनोट अन्तर्गत ‘प्ले अफ’को पहिलो खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबले आयोजक राष्ट्र मङ्गोलियाको लिग विजेता ‘एर्चिम’ फुटबल क्लबलाई २–० ले हराएको छ ।

मङ्गोलियाको राजधानी उलनबटारमा भर्खरै सम्पन्न खेलको १३ औं मिनेटमै थ्रीस्टारले अग्रता लिएको थियो । नाइजेरियाली खेलाडी मार्टिन्स कयोदेले थ्रीस्टारलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७५ औंँ मिनेटमा विक्रम लामाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेसँगै थ्रीस्टारको जित सुनिश्चित भएको हो । आजको जितले थ्रीस्टारको दोस्रो चरणमा जाने सम्भावना प्रबल भएको छ ।

थ्रीस्टारले गत वर्षको राष्ट्रिय लिग जितेसँगै एएफसी कपको ‘प्ले अफ छनोट’मा नेपालको प्रतिनिधित्व गर्दै खेल्ने अवसर पाएको हो । जारी प्रतियोगितामा थ्रीस्टार समूह ‘बी’मा परेको छ । अब थ्रीस्टारले कम्बोडियाको नागावल्र्ड फुटबल क्लबसँग मङ्गलबार खेल्ने छ ।
तीन समूहमा विभाजित ‘प्ले अफ छनोट’ चरणमा नौ टोलीको सहभागिता छ । तीन वटै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछन् ।