काठमाडौँ, असोज / भारतबाट पटकपटक हुने आपूर्ति व्यवधान र नाकाबन्दीको स्थायी समाधन खोज्न आग्रह गरिएको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन र राष्ट्रिय उद्योग व्यापार महासङ्घले संयुक्तरूपमा काठमाडौँमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगी तथा व्यवसायीले सधँैभरि अन्य मुलुकसँग आश्रित हुनुको सट्टा नेपालकै जल, जमिन, जङ्गल र जडीबुटीको सही समुप्रयोग गरी आत्मनिर्भर हुँदै विभिन्न समयमा हुने नाकाबन्दीको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय उद्योग व्यापार महासङ्घका अध्यक्ष शिव कट्टेलले भारतसँग गरिएका असमान सन्धि खारेज गरी पुनः देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रहित अनुरूप शान्तिमैत्री सन्धी गरिनुपर्नेमा जोड दिनुभयो ।
छिमेकी मुलुकसँगका अन्य नाकाहरू पनि खुलाउने कार्य तत्काल अगाडि बढाउन सबैभन्दा पहिले फूलबारी राधीकापुर, पारवहन सुविधा अविलम्ब अगाडि बढाउनुपर्ने अध्यक्ष कट्टेलको भनाइ छ ।
नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै भूपरिवेष्टित देशले पाउनु पर्ने समुन्द्र पारवहन निर्वाध पहुँचको अधिकारका लागि तत्काल अख्तियार गर्नुपर्ने माग समेत गरेको छ ।
सङ्गठनका अध्यक्ष कृष्ण आचार्यले नाकाबन्दीको दीर्घकालीन समाधान खोज्न विधुतीय सवारी साधनलाई अत्यधिक प्रयोगमा ल्याउनुपर्ने बताउँदै राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय आँैद्योगिकरण तथा विविधिकरण गर्ने नीति अख्तियार गर्नुपर्नेमा जोड दिनुभयो ।
ऊर्जा उत्पादन सङ्घका अध्यक्ष खड्कबहादुर विष्टले २०२७ र २०४५ सालमा गरिएको नाकाबन्दी भन्दा पछिल्लो पटक गरिएको नाकाबन्दीले जनतामा बढी समस्या आएको हुँदा नेपाली अवका दिनमा आत्मनिर्भरतातिर केन्द्रीत हुनुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनक शाह र उद्योग व्यापार सङ्घ रूपन्देहीका अध्यक्ष खीमबहादुर खत्रीले नाकाबन्दीले नेपालीहरू आफैमा आत्मनिर्भर हुनुपर्छ भन्ने पाठ सिकाएको छ भन्नुभयो