चितवन,असोज/ पिनासको उपचारका लागि कलेज अफ मेडिकल साईन्स शिक्षण अस्पताल भरतपुरमा भर्ना भएका बासगढी ८ बर्दियाका ३४ वर्षीय माधवप्रसाद बरालको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन् ।
नाकको अप्रेसन गर्ने भनि टाउकाको अप्रेसन गरी आफनो छोरा मारेको मृतकका बुबा बुद्धिसागर बरालले बताए । ‘अप्रेसन गरेपछि छोरा निको होला भन्दा लास देख्नु पर्यो,’ बुबा बुद्धिसागरले भने ।
टाउको दुख्ने समस्याबाट पीडित माधवप्रसाद बराल गत साउन १ गते अस्पताल भर्ना भएका थिए । उनको डाक्टर आईपी चेरिएनले नाकको माथिल्लो भागमा ट्युमर भएको भन्दै अप्रेसन गरेका थिए । चेरिएनले नाकबाट पाईप हालेर मासु झिकेर फाल्ने हो, २ लाख खर्च लाग्छ एक हप्तामा नै निको हुन्छ भन्दै ५ गते अप्रेसन गरेका थिए ।
अप्रेसन गरेको लामो समयसम्म पनि बिरामी होसमा नआएपछि विरामीका आफन्तले अस्पताल प्रशासन र डा. चेरिएनलसँग रिफर गरिदिनुस् काठमाडौंको अस्पतालमा लैजान्छौं भनेर आग्रह गरेका थिए । तर अस्पतालका डाक्टरहरुले आफूहरुले नै निको पार्ने भन्दै अन्त लैजान नपर्ने बताएका थिए ।अप्रेसन गरेको तीन दिन पछि केहि मिनेट अर्धहोसमा आएको र त्यसपछि बेहोस भएर आईसीयुमा देवरको मृत्यु भएको भाउजु गोमाले बताइन् ।
‘म उपेन्द्र देवकोटा र बसन्त पन्त जस्तो पैसा कमाउने डाक्टर होइन, बिरामी निको बनाउछु भने,’ अस्पताल प्रशासन र डाक्टर चेरियनले भनेको भनाइ उद्धृत गर्दै गोमाले भनिन्, ‘एक हप्ता भित्रै निको बनाउछु भन्दै डाक्टरले २ महिनासम्म आईसीयुमा राखे । अहिले देवरको लास लिन बोलाए ।’अस्पतालले शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको भनेर मौखिक जानकारी गराए पनि आइतबार दिउँसोसम्म लिखित र आधिकारिक रिपोर्ट नदिएको बुबा बुद्धिसागर बताउँछन् ।मृतकको टाउकोमा घेरै ठाउँमा अप्रेसन गरेका घाउहरु देखिएकाले अस्पतालका डा. चेरियनले गलत अप्रेसन गरी छोरा मारेको उनको दाबी छ ।पीडित परिवारले उपचारका लागि २० लाख बढी रकम खर्च भइसकेको जनाएको छ ।