रैथाने बीउबिजन संरक्षणका पक्षमा ऐक्यबद्धता आवश्यक

1.3K

रैथाने बीउबिजन संरक्षणका पक्षमा ऐक्यबद्धता आवश्यक

काठमाडौँ, ३० भदौ । कृषि राज्यमन्त्री राधिका तामाङले बीउबिजन अतिक्रमणविरुद्ध लड्न किसानसग आग्रह गर्नुभएको छ ।

मिडिया इन्टरनेसनलमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले संस्कृति र सीमामा भएका आक्रमणका विरुद्ध नेपाली एकताको स्मरण सुनाउँदै अव रैथाने जातका बीउबिजन संरक्षणका पक्षमा ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो ।

उहाँले खेतबारी नभएका र कुटोकोदालो नचिनेका मानिसलाई इजरायलमा कृषि तालिम लिन पठाउनुले कृषिमा माफियाको चलखेल बढेको बताउनुभयो । हेलम्बु सामुदायिक कृषि वन अनुसन्धान केन्द्र सिन्धुपाल्चोकलगायतका संस्थाले आयोजना गरेको गुणस्तरीय बीउबिजनको संरक्षणमा किसानको दायित्व विषयक कार्यक्रममा मन्त्री तामाङले आफू मन्त्रालयमा रहुन्जेल विकृति विरुद्ध लड्ने बताउनुभयो ।

हेलम्बु सामुदायिक कृषि वन अनुसन्धान केन्द्र सिन्धुपाल्चोककी अध्यक्ष कमला सिटौलाले बाली लगाउने बेलामा रैथाने जातका खाद्यान्न तथा दलहन एवम् तरकारीका बीउ पाइन छोडेको बताउनुभयो । “मकैको पाँच, आलुको दुई र गोलभेँडाको एक थरी जातको यहाँ विकास गरिए पनि अन्य सबै जात आयातित हुन्” – बीउबिजन अधिकृत महेश रेग्मीले बताउनुभयो । उहाँले ९० प्रतिशत अर्थात् रु एक अर्बभन्दा बढीको बीउ वार्षिक आयात हुने गरेको बताउनुभयो ।

बीउबिजन ऐन, २०४५ र बीउबिजन नियमावली, २०६९ ले बहुराष्ट्रिय कम्पनीबाट उत्पादित वर्णशङ्कर जातका बीउ खास खास प्रक्रिया पु¥याई नेपालमा आयात गर्न दिने कानुनी बाटो खुल्ला गरेको छ । सोही कारणले रैथाने जातका बहुगुणी बीउ लोप हुने सङ्घारमा छन् ।

कृषि विकास मन्त्रालयका प्रवक्त योगेन्द्रकुमार कार्कीले अनधिकृत बीउबिजन बिक्री वितरणमा रोक नलगाउँदा रैथाने बीउ मासिने क्रम बढ्दै गएको बताउनुभयो । राष्ट्रिय कृषि नीति, २०६१ ले उत्पादन वृद्धिका लागि नेपालमा वर्णशङ्कर बीउको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने तथा जिएमओको प्रयोगलाई नियमन गर्ने नीति लिएको छ । जसका कारण बहुराष्ट्रिय कम्पनीका हाइब्रिड बीउलाई आयातमा प्रतिबन्ध छैन भने रैथाने बीउको जगेर्ना र संरक्षणतर्फ खासै ठोस पहल हुन नसकेकाले नेपाली जातका बीउबिजन गाउँघरबाट पलायन भएका छन् ।

राष्ट्रिय बीउबिजन केन्द्रका अनुसार नेपाललाई कुल वार्षिक दुई हजार टन बीउको आवश्यकता पर्छ । जसमध्ये तरकारीमा सिर्जना जातको गोलभेँडा र मकैमा खुमल हाइब्रिड–२ मा आत्मनिर्भर भएको पाइन्छ ।