काठमाडौँ, ६ असोज । बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी कम्तिमा तीन हप्ताका लागि मैदान बाहिर हुने भएका छन् । ला लिगा अन्तर्गत बुधबार रातिको खेलको क्रममा चोटग्रस्त भएका कारण मेस्सी तीन हप्तासम्म खेल्न नसक्ने भएका हुन् ।
उनको कम्मर र तिघ्रा बिचको भागमा चोट लागेको हो । उनको मांसपेशी तन्किएको छ । एथ्लेटिको मड्रिडका डिएगो गोडिनसँगको ट्याकलको क्रममा मेस्सीलाई खेलको ५९ औं मिनेटमा चोट लागेको हो । यो खेलमा
बार्सिलोना १–१ को बराबरीमा रोकियो ।
चोटकै कारण मेस्सीले यसअघि विश्व कप २०१८ को छनौट अन्तर्गत राष्ट्रिय टिमबाट भेनेजुएलासँगको खेल गुमाएका थिए । तर उनले यो सिजन ला लिगाका अहिलेसम्मका सबै पाँच खेल खेलेका छन् ।
मेस्सी आउँदो अक्टोबर १९ मा च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीसँगको खेलमा मैदानमा फर्किने सम्भावना छ । चोटका कारण मेस्सीले च्याम्पियन्स लिगको एक, ला लिगाको दुई तथा विश्व कप छनौटका दुई खेल गुमाउने छन् ।