
काठमाडौं, २७ कात्तिक । नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो ।
गोलकिपर किरण चेम्जोङको नायकत्व प्रदर्शनका कारण टाइब्रेकरमा लाओसलाई ३–० ले पराजित गर्दै नेपाल एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेको हो । मलेसियाको कोचिङमा शनिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
नेपालका तीन खेलाडीले लगातार गोल गरे भने पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जाङले लाओसका खेलाडीको लगातार दुई प्रहार रोके । लाओसको तेस्रो पेनाल्टीले सही दिशा लिन सकेन र नेपाल टाइब्रेकरमा ३–० ले विजयी भएको छ । यसअघि निर्धारित समयको खेलमा भने लाओसले अग्रता लिएको थियो । १७ औं मिनेटमा गोल गरेको उसले पहिलो हाफसम्म त्यसलाई जोगाएर राख्यो ।
तर, दोस्रो हाफको सुरुमा नै नेपालमा नेपालले बराबरी गोल फर्कायो । नेपालका लागि विमल घर्ती मगरले गोल गरेका हुन् । दुबै टोलीले केही मौका पाएपनि थप गोल गर्न सकेन र, निर्धारित समयको खेल १–१ को बराबरीमा सकियो । अतिरिक्त समयको खेलको १०४ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई २–१ अग्रता दिलाए ।
तर, अन्त्यतिर नेपालले गोल खानपुग्यो । र,खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । नेपालका लागि हेमन्त गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले आफूले हानेको पेनाल्टीलाई गोलमा परिणत गरे।