‘एमालेको बखेडाले संशोधन विधेयक दर्ता हुन सकेन’

1.3K

‘एमालेको बखेडाले संशोधन विधेयक दर्ता हुन सकेन’

महोत्तरी, १० पुस । नेकपा (एमाले)को बखेडाका कारण संविधान संशोधन विधेयक संसद्मा दर्ता हुन नसकेको (माओवादी केन्द्र)का नेता एवम् पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरलले बताउनुभएको छ ।

आज महोत्तरीको हरिपुर हरिणमणिमा रहेको श्री किशोरी माविको अवलोकनका लागि त्यहाँ पुग्नुभएका नेता पोखरेलले नेकपा एमालेको गैरजिम्मेवारीपन तथा मधेसी दलको अडानका कारणले नै संविधान संशोधन विधेयक संसद्मा दर्ता हुन नसकेको बताउनुभयो ।

मधेसी मोर्चालाई फकाउनका लागि एमालेले ३६ पटकसम्म वार्ताका लागि आह्वान गरेको स्मरण गर्दै नेता पोखरेलले अहिले पनि सरकारले सोही विषयमा संसद्मा छलफल गर्नका लागि संविधान संशोधन विधेयक दर्ता गर्न खोजेको उल्लेख गर्नुभयो ।

एक अर्को प्रसङ्गमा पूर्वशिक्षामन्त्रीसमेत रहनुभएका नेता पोखरेलले अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयलाई रु २७ अर्ब रकम विनियोजन नगर्दा शिक्षा ऐनको आठाँै संशोधन कार्यान्वयन हुन नसकेको धारणा राख्नुभयो ।

अहिले पनि देशमा ३६ हजारको हाराहारीमा विज्ञान र गणित शिक्षकको अभाव रहेकाले सो ऐनको कार्यान्वयनले सो पदपूर्ति पूरा हुने नेता पोखरेलको भनाइ छ । रासस