मधेसी मोर्चाले साथ दिने भएपछि सत्तापक्षले जसरी पनि विधेयक संसद्मा पेस गर्ने निर्णय शनिबार गरेको थियो । सत्तापक्षको निर्णयपछि त्यसलाई कसरी रोक्ने भन्नेमा विपक्षी गठबन्धनले पनि तयारी गरिरहेको छ । आ–आफ्नो तयारीलाई अघि बढाउँदै उनीहरूले सहमतिको प्रयास पनि गरिरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीबीच आइतबार कुराकानी भएको छ । दुई नेताबीच राजधानीमा गोप्य भेट भएको हो । त्यहाँ उनीहरूले के विकल्पमा छलफल चलाए भन्नेबारे दुवै पक्षले बाहिर ल्याउन चाहेका छैनन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सोमबारै संशोधन विधेयक पेस गर्न प्रधानमन्त्रीले अन्तिम प्रयास गरिरहेको बताएकी छन् । प्रमुख प्रतिपक्षी एमालेको समेत संशोधन प्रस्तावमा स्वामित्व हासिल गर्न दाहालले कोसिस गरिरहेको उनले बताइन् । ‘भोलि संशोधन प्रस्ताव कुनै पनि हालतमा अघि बढ्छ, त्यसका लागि प्रधानमन्त्रीले हिजो र आज दिनभरि अन्तिम प्रयास गरिरहनुभएको छ,’ भुसालले भनिन्, ‘हामी एमालेलाई यो प्रक्रियामा बाहिर राख्न चाहँदैनौं ।’
कांग्रेस सभापति शेरबहादुर देउवासँग एमाले उपाध्यक्ष भीम रावलले आइतबारै भेटेर गतिरोध निकासबारे कुराकानी गरेका छन् । संविधान कार्यान्वयन गर्दै चुनावमा जानका लागि मुख्य दलहरूबीचको समझदारी चाहिने र त्यसका लागि सत्तापक्ष जिम्मेवार ढंगले अघि जाने गरी वातावरण बनाउनुपर्ने विषयमा रावलले देउवासँग कुराकानी गरेका थिए । कांग्रेस नेता एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक सोमबारकै बैठकमा टेबुल हुन सक्ने बताए ।