औद्योगिक बिकासकालागि सरकार गंभीर छ : मन्त्री गिरी

1.3K

औद्योगिक बिकासकालागि सरकार गंभीर छ : मन्त्री गिरी

बुटवल, १६ असार । प्रदेश पाँचका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले उद्योगको प्रवद्र्धन र बिकासकालागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । औद्योगिक बिकास बिना मुलुकको आर्थिक बिकास समृद्धि सम्भव नभएको बताउँदै मत्री गिरीले बिकास र समृद्धिकालागि औद्योगिक बिकासमा सरकार गम्भिर रहेको बताउनु भएको हो ।

ग्लोवल फेयरनेश इनिसियटिभस्, गुड विभ र घरघरमा शिक्षा तथा आत्मनिर्भर बिकास संस्था नेपालले संयुक्त रुपमा सोमबार तिलोत्तमा नगरपालिकाको नयाँमिलमा आयोजना गरेको ‘श्रममैत्री ईटा उद्योग, ईटा उद्योगमैत्री स्थानीय शासन र नीति’ बिषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र ऐन कानुनहरुको अध्ययन गरेर ईटा उद्योगलाई व्यबस्थित गरिने बताउनु भयो ।

उहाँले ढुंगा र माटो खानीको पहिचान गरेर खानीबाटै आपूर्तिको व्यबस्थापन गरिने बताउँदै उहाँले प्रश्न गर्नुभयो–‘बिदेशबाट आउने मार्वल लगायतका सामानको उत्खनन् गर्दा त्यहाँको पर्यावरण बिग्रिदैँन, यहाँ बिकास गर्दा पर्यावरण बिग्रिन्छ ?’ उहाँले पर्यावरण नबिगार्नेगरी खानीको पहिचान गरेर उद्योगलाई आवश्यक पर्ने ढुंगा तथा माटो उत्खनन गरि आपूर्ती व्यबस्था मिलाउनकालागि सरकार सकारात्मक रहेको भनाई राख्नुभयो । उहाँले उद्योगका समस्या र समाधान कसरी गर्न सकिन्छ गोष्ठीमा निश्कर्ष निकालेर सुझाव राख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश पाँच प्रदेश सभाकी काँग्रेस सचेतक निर्मला क्षेत्रीले उद्योगीले उठान गरेका समस्या समाधानकालागि सरकार गम्भिर बन्नुपर्ने बताउनु भयो । उहाँले उद्योगी व्यबसायीलाई विषयगत समितिलाई समेत आफहरुका समस्या र समाधान गर्न सकिने कुराहरु यथार्थ रुपमा राख्न आग्रह गर्नुभयो । त्यस्तै प्रदेश सभा सदस्य कृष्ण न्यौपानेले ईटा उद्योगीका धेरै समस्या रहेको आफूले पनि महसुस गरेको बताउँदै उद्योगीको पक्षमा हुनेगरी कानुन बनाउन आफू लागिपर्ने बताउनु भयो ।

त्यस्तै शिवराज नगरपालिका कपिलबस्तुका नगरप्रमुख नेत्रराज अधिकारीले पूर्वाधार निर्माणमा ईटा उद्योगको ठूलो महत्व रहेको तथा उद्योगको प्रवद्र्धन र बिकास गर्न सक्ने हो भने राजश्व असुलीमा पनि उल्लेखनीय बृद्धि हुने बताउँदै ईटा उद्योगको प्रवद्र्धन गर्नेगरी कानुन बनाउनु पर्ने बताउनु भयो । सामाजिक बिकास मन्त्रालयका निमित्त सचिव टिकाराम अर्यालले उद्योगीका समस्या र समाधानकालागि सरकारका तर्फबाट गर्न सकिने कुराहरुमा दुबै पक्ष गम्भिर बन्नुपर्ने बताउनु भयो ।

त्यस्तै नेपाल ईटा उद्योग महासंघका उपाध्यक्ष सखर मियाँ, प्रदेश अध्यक्ष थानेश्वर घिमिरेले ईटा उद्योगका कारण मुलुकको निर्माणमा महत्वपूर्ण योगदान पुगेको पनि उद्योगको प्रवद्र्धन र बिकासमा सरकार गम्भिर बन्न नसकेको बताउनु भयो । उहाँहरुले उद्योगमा जिकज्याक प्रबिधि राख्ने हो भने वायुप्रदुषण पनि कम हुने भएकाले जिकज्याक प्रबिधिमा सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

त्यस्तै सरकारले नै कानुन बनाएर सबै उद्योगलाई एकरुपता कायम गर्न तथा सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनकालागि उद्योगबाट ज्यालाको २० प्रतिशत रकम दिनुपर्ने हो भने उद्योग बन्द गर्नुपर्ने स्थिती आउने भएको त्यो सम्भव नभएको बताउनु भयो । उहाँहरुका अनुसार नेपाल भरीमा करिव १ हजार तथा प्रदेश पाँचमा २०१ ईटा उद्योग रहेका छन् । कार्यक्रममा उद्योगी डम्बर शर्माले उद्योगका समस्या तथा समाधानका उपायहरु प्रस्तुती गर्नुभएको थियो ।