राष्ट्रियसभाको रिक्त १८ सिटका लागि बिहिबार बिहान १० बजेदेखि मदतान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार अहिले बिहान १० बजेदेखि सात वटै प्रदेशमा निर्वाचन अन्तरगत मतदान सुरु भएको हो ।
निर्वाचन आयोगले प्रत्येक प्रदेशको एक एक स्थानमा मतदान स्थल तोकर मतदानको तयारी गरेको थियो । जसअनुसार प्रदेश नं. १ को विराटनगर, २ को जनकपुर, वागमती प्रदेशको ललितपुर, गण्डकी प्रदेशको पोखरा, ५ नं. प्रदेशको दाङ्, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको दीपायलमा मतदान भईरहेको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ ४ बजेसम्म चल्नेछ ।
५९ सदस्यीय राष्ट्रिय सभाका लागि एक तिहाई (१९) सांसदको पदावधि आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये १ जना राष्ट्रपतिबाट मनोनित रहेकाले बाँकी १८ सिटकालागि निर्वाचन भएको हो । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । कुल मतभार ५३ हजार ५०८ रहेको र ६ दलका ४५ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ ।
