रुपन्देहीको तिलोत्तमानगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले शिक्षाभन्दा पहिले बालबालिकालाई संस्कारको जरुरत रहेको र त्यसको लागि अभिभावक र विद्यालयबीच सहकार्य आवश्यक रहेको औल्याउनु भयो । विद्यार्थीको चौतर्फी विकासको लागि विद्यालय लागिपरेको भन्दै उहाँले विद्यालयलाई देशकै नमुना बनाउने अभियानमा साथ दिन अभिभावकहरुसँग आग्रह गर्नुभयो ।
कक्षा १० मा अध्ययनरत ४ सय ४५ जना विद्यार्थीहरुका अभिभावकको लागि आयोजित कार्यक्रममा अभिभावकको भूमिका, बालबालिकको संस्कार तथा व्यवहार र उनीहरुको मनोविज्ञान बारे प्रशिक्षक दिनेश खड्काले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक स्थानेश्वर बस्याल, अङ्ग्रेजी माध्यमका संयोजक दिपेन्द्र शाक्य, नेपाली माध्यमका संयोजक लोकनाथ कंडेलले बोल्दै विद्यालय प्रशासन, अभिभावक वर्ग र शिक्षक वर्गको त्रिकोणात्मक प्रयासले मात्र विद्यार्थीहरुमा आशा गरेको परिवर्तन ल्याउन सकिने भएकोले सो कार्यको लागि सहकार्य गर्न अभिभावक समक्ष अनुरोध गर्नुभयो ।
कक्षा १० का संयोजक शेखर पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा अभिभावकहरुले समेत जिज्ञासाहरु रचनात्मक सुझावहरु राख्नुभएको थियो । त्यस्तै कक्षा नर्सरी देखि १० सम्मको अर्धवार्षिक परीक्षाको नतिजाफल प्रकाशन तथा कक्षागत रुपमा परामर्श कार्यक्रम समेत गरिएको सहप्रधानाध्यापक किशोरकुमार खनालले बताउनुभयो । विद्यालयमा यस वर्ष करीव ३ हजार ६ सय विद्यार्थी अध्धयनरत छन् ।