रुपन्देही व्यापार संघको लगानी तथा लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक एवं भौतिक व्यवस्थानमा प्रादेशिक अस्पतालमा रक्तसंञ्चार केन्द्र (ब्लड बैंक) स्थापना हुने भएको छ । मंगलवार ब्लड बैंक स्थापनाका लागि लुम्बिनी प्रादेशिक अस्पताल र रुपन्देही व्यापार संघवीच संस्थागत रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
ब्लड बैंक स्थापनाका लागि १० बुँदे सम्झौता पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालको तर्फबाट अध्यक्ष सुर्यबहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाल तथा रुपन्देही ब्यापार संघको तर्फबाट अध्यक्ष यमलाल लोहनी, महासचिव दयानीध भण्डारी र कोषाध्यक्ष दिपक अधिकारीले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौता पत्रमा अस्पतालको हाताभित्र स्थापना हुने ब्लड बैंकको लागि भौतिक संरचना अस्पतालले बनाउने र त्यसलाई आबश्यक पर्ने उपकरण रुपन्देही ब्यापार संघले उपलब्ध गराउने उल्लेख छ ।
ब्लड बैक सञ्चालनका लागी ७ सदस्यीय सञ्चालक समिति गठन गर्ने जसमा रुपन्देही व्यापार संघको तर्फबाट ३, अस्पताल विकास समितिबाट २, स्थानीय सरकार बुटवल उपमहानगरपालिकाबाट १ र जिल्ला प्रशासनबाट एक जनाको प्रतिनिधित्व रहने छ । यसैगरि अस्पताल प्रशासन र लेखा शाखाबाट १–१ जना अनिर्वाय आमन्त्रित सदस्य राख्ने व्यवस्था गरिएको छ ।
सो परियोजना केन्द्रबाट आर्जन हुने आय सोही परियोजना सञ्चालन, मर्मत संहार र विकासका लागि खर्च गरिने बताउदै आयव्यवलाई पारदर्शी राख्न र चलाउन छुट्टै बैक खाता खोलिने छ भने गरिब, असाय र अशक्त विरामीलाई निशुल्क सेवा दिने प्रतिवद्धता संझौतामा जनाइएको छ ।
स्थापना गर्न लागिएको ब्लड बैंकमा अत्याधुनिक प्रविधिको प्रयोग र व्यवस्थापन रहने जनाइएको छ । नेपालमा नै सिमित स्थानमा रहेको बहुउपयोगि खालका मेसिनहरुबाट रगतको विविधिकरण गरि प्रयोगमा ल्याउने विधि अपनाइने छ । ब्लड बैंकको आवश्यक तयारी थालिएको जनाउदै मेसिन छनौंट र खरिदको काम सुरु भएको अध्यक्ष भट्टराईले बताउनु भयो । ब्लड बैक स्थापनाको लागि मेसिन खरिदमा झण्डै २ करोडको लगानी लाग्ने अनुमान गरिएको व्यापार संघका अध्यक्ष लोहनीेले बताउनु भयो । नेपालमा नेपाल रेडक्रश सोसाइटी अन्तरगत सञ्चालनमा रहेको ब्लड बैंकले मात्र रगत वितरण गर्दै आएको छ ।
केन्द्र स्थापनाका लागि आर्थिक जुटाउने प्रतिवद्धता गरेको रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहोनीले अस्पतालसंग पबित्र कार्यगर्नको लागी सहकार्य गरेको बताउदै ब्लड बैंकको लागि आबश्यक सबै उपकरण व्यापार संघले व्यबस्था गर्ने सहमति अनुसार हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।